

चंखेली सम्वाददाता,
काठमाण्डौं ।
पशुपति विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडालाई राष्ट्रिय सूचना आयोगले कारवाहि गरेको छ । आयोगले उनलाई १५ हजार जरीवाना गरेको आयोगद्वारा पे्रषित विज्ञप्तीमा उल्लेख गरीएको छ ।
सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ को उपदफा १ र २ ले दिएको अधिकारको सम्मान नगरेकोले अतिवडालाई कारवाहि गरीएको हो ।
बाह्दशी गा.पा.वडा नं. ६, झापा, हाल काठमाण्डौं निवासी बल बहादुर प्रधानले पशुपति विकास कोषसँग आफैसँग सम्बन्धित सूचना माग गरेका थिए । विकास कोषका सूचना अधिकारी र कार्यालय प्रमुखले सूचना उपलब्ध नगराएपछि प्रधानले आयोगमा पुनरावेदन गरेका थिए ।
आयोगले सूचना अधिकारी र कार्यालय प्रमुखलाई सूचना उपलब्ध गराउनु भनि बारम्बार दिएको आदेशलाई वेवास्ता गरी सूचना माग कर्तालाई नै कारवाहि गर्नको लागि खतिवडाले स्पष्टीकरण समेत सोधेका थिए । ऐनमा कहि कतै पनि सूचना माग कर्तालाई स्पष्टीकरण सोध्न सकिने प्रावधान छैन । खतिवडाले सूचना माग कर्ताको मनोबल गिराउन स्पष्टीकरण सोधेको देखिन्छ ।
संविधानको धारा २७ र सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ को उपदफा १ र २ ले प्रदत्त गरेको अधिकारलाई कुण्ठीत गर्ने कार्य गरेकोले कार्यकारी निर्देशक घनश्याम खतिवडालाई सूचनाको हकसम्बन्धि ऐनको दफा ३२ को उपदफा १ अनुसार १५०००(पन्ध्र हजार) जरीवाना गरी माग बमोजिमको सूचना पुनः उपलब्ध गराउन आयोगले आदेश गरेको छ ।


