

शंकर श्रेष्ठ,
अहिलेको आधुनिक नेपाल श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको उपज हो । वि.सं. १७७९ पौष २७ गतेका दिन नरभूपाल शाह र कौश
ल्यावतीको कोखबाट हालको गण्डकी प्रदेश गोरखा जिल्ला गोरखा नगरपालिकामा जन्म लिएका पृथ्वीनारायणले २० वर्षमा राजा भएपछि २१ वर्षको उमेरबाट आधुनिक नेपालको परिकल्पना गरी साना–साना राज्यमा विभाजित राज्यहरुलाई एकीकरण गर्ने सोचका साथ महान कामको थालनी गरेका थिए । उनी सानै उमेरमा महाभारत, रामायण तथा सुक्रनिति, राजनीति तथा कुटनीतिका ज्ञाता अति नै लगनशील तथा मेहेनती भएको ईतिहासकारहरुबाट जानकारी पाउन सकिन्छ ।
उनी गोरखा दरवारबाट सधै रातमा गोरखाको छोपराक नजिक दरौदीमा पुगी उज्यालो हुँदा दरवारमा राजकुमार हुँदा नै पुग्ने गथ्र्यो भन्ने भनाईहरु छन् । यदि यो सत्य हो भने यो उनको सानै उमेरदेखि कडा परिश्रम गर्ने बानी थियो भन्ने प्रमाणित हुन्छ । किनकी अहिले पनि जंगलको बाटो साथै उक्त स्थानको दुरी करिब ४ घण्टाको पुरै उकालो बाटो छ । सानै उमेरदेखि दृढविश्वासका साथ एक महान उद्देश्यका निम्ती लागी परेका पृथ्वीनारायण शाहले महान संकल्पका साथ अथाह प्रयासका साथ आजको आधुनिक नेपालको निर्माण गरेको हो भन्ने उसबेलाका तथ्यहरुले प्रमाणित गर्दछ ।
मकवानपुरका राजकुमारी ईन्द्रकुमारीसँग विवाह गरेका पृथ्वीनारायणले मकवानपुर जाने आउने क्रममा काठमाडौं उपत्यकामा उर्वराशील भूमिमा फलेका अन्नहरु मार्फत गोरखा जस्तो खानेपानी समेत अभाव रहेको स्थानमा बसोबास गर्ने गोरखालीलाई भरपेट मजाले खाना खुवाउने कुनै पनि शासकको महान सोच हो । रणनैतिक रुपमा यसै सोचलाई पूर्ण गर्न भक्तपुरका राजकुमार वीरनरसिंह मल्लसँग मीत लगाएका थिए । यसै मितेरी साइनोलाई पुल बनाएर उसबेलामा उपत्यका मठमन्दिर भ्रमण गरेका उनीले जयप्रकाश मल्ल समेतसँग मित लगाई उपत्यकाका राजाहरुसँग सम्बन्ध बिस्तार गरेका थिए साथै उपत्यकाको राजनैतिक परिदृश्य तथा रहनसहन सबै गहिरोसँग अध्ययन गरेका थिए ।
पिता नरभूपाल शाहको सपना पुरा गर्न तथा गोरखाका आफ्ना जनतालाई भरपेट मज्जाले अघाउन्जेल खाना खुवाउने सोचका साथ पिताको मृत्युपछि राज्यभिषेक गरेका पृथ्वीनारायण शाहले लमजुङका राजासँग मैत्री सम्बन्ध कायम गरी कास्कीमाथि विजय हासिल गर्ने सोचका साथ सन्धी कायम गरेका थिए । यस पश्चात उपत्यका हासिल गर्ने महान सोचका साथ विजय थापा मगर, महेश्वर पन्त जस्ता योद्धाको साथ नुवाकोट विजय गर्न पहिलो आक्रमण गरे तर उनीले पहिलो चरणमा हार ब्यहोर्नु पर्यो । काशी पुगेका पृथ्वीले जाजरकोटका राजा हरी शाहसँग एक आपसमा अवरोध नहुने संझौता गरी पूनः १८०१ मा कालु पाण्डेको नेतृत्वमा नुवाकोट आक्रमण गरी नुवाकोटलाई गोरखा राज्यमा गाभ्न सफल भए । उक्त कार्यका निम्ती उनले १२ देखि २० वर्षका युवाहरुलाई परिचालन गरेका थिए । यसको अर्थ नुवाकोट जित २० वर्ष भित्रका युवाहरुको जित हो भन्न कुनै संकोच गर्न पर्ने हुदैन ।
वि.सं. १८१२ सम्ममा महादेव पोखरी, नालदुम, दहचोक, सिरानचोक, कुलेखानी, इपा तथा माल्टा जस्ता राज्यहरु गोरखा राज्यमा ल्याएर मकवानपुर सिमासम्म राज्य विस्तार गरिसकेका उनीले वि.सं. १८१४मा १२०० गोरखाली युवाहरुको फौजका साथ किर्तिपुरमा पहिलो आक्रमण गरेकामा बल्खु चोकमा भिडन्त हुँदा काजी कालु पाण्डे सहित कयौ सेनाले शहादत प्राप्त गरे । यसरी हार व्यहोर्नु परेपनि पूनः बंशजराज पाण्डे र केदारसिह बस्न्यात जस्ता होनहार युवाको नेतृत्वमा वि.सं. १८१६ मा काभ्रे तथा शिवपुरी राज्यलाई गोरखा राज्यमा गाभ्न सफल भए । यस्तै उनै सेनाको साथमा वि. सं. १८१९ मा मकवानपुर जस्तो शक्तिसाली राज्यलाई पनि जित हासिल गरी उपत्यकामा पाईला टेक्ने सहज बाटोमा पुग्न सफल भएका थिए ।
विजयको पाईला पछ्याउँदै अगाडि बढेका पृथ्वीनारायणको यात्रा दोस्रो पटक हार व्यहोरे पनि रोकिएन र तेस्रो पटकमा किर्तिपुरमाथि विजय हासिल गरेरै छाड्यो । यस विजयमा कयौ वीर योद्धाहरुको शहादत भएपनि उपत्यका जितको निम्ती अपरिहार्य भएकोले निकै महत्वपूर्ण विजय थियो ।
उपत्यका जित प्रमुख उद्देश्य बनाएका उनले सबै वरपर घेरा हाली उपत्यकमा नाकाबन्दी गरेका थिए । उक्त नाकाबन्दीका कारण उपत्यकमा आर्थिक संकट उ्रत्पन्न भएको थियो । साथै उपत्यकामा बाहिरबाट आउने आर्थिक तथा सैन्य सहयोगहरुलाई पूर्णरुपमा बन्देज हुनेगरी उपत्यकामा घेरा हाली डेरा जमाएका थिए । यसरी आर्थिक तथा सैन्य बलमा जरजर भइसकेको उपत्यककाको कान्तिपुरी तथा ललितपुर वि.सं. १८२५ मा गोरखा राज्यको एक भागको रुपमा स्थापित गरेका थिए । साथै भक्तपुर राज्यमा भिषण युद्ध गरी वि.सं. १८२६ मा जित हासिल गरेका थिए । यो युद्धमा २००० भन्दा बढिको मृत्यु भएको थियो । साथै ५०० भन्दा बढि घरहरुको विनास भएको र कयौ सम्पतिको नष्ट भएको थियो ।
चौबिसे राज्यसँगको भिषण हारको बाबजुद पनि गोरखा राज्यको बिस्तार क्रमलाई निरन्तर रुपमा अगाडि बढाई नै रहेका पृथ्वीनारायण शाहको मृत्यु नुवाकोटको देविघाटमा वि.सं. १८३१मा ५२ बर्षको उमेरमा भएको थियो । विषे नगर्चीको अर्तीउपदेश तथा गोवर किराको मेहनत जस्ताबाट प्राप्त गरेका उत्साह तथा होनाहार युवा सैनिकको बलमा अथाह परिश्रम तथा लगनशीलताको कारण उनले आधुनिक नेपालको निर्माण गरेका थिए । राज्यसत्ता संचालनको निम्ती कयौ नियमहरु बसाई अहिलेको समयमा पनि सान्दर्भिक हुने दिब्य उपदेश समेत हामीलाई छाडेर गएका थिए । सा–साना राज्यमा विभाजित शाह राज्यहरुलाई पनि एकै सुत्रमा ल्याएर शाह बंशजको राज्यको रुपमा आधुनिक नेपालको जग बसालेर विश्व मानचित्रमा नेपालको अस्तित्व कायम गरेका थिए ।
पृथ्वीनारायण शाहको मृत्यु पछि पनि उनका बंशजहरुले निरन्तर राज्य बिस्तारको कामलाई अगाडि बढाई नै रहे । ७२ बर्षसम्म चलेको यो अभियान पूर्वमा टिष्टा नदि, पश्चिममा सतलज नदी र दक्षिणमा मगधसम्म नेपालको सिमा बिस्तार गरेको थियो । अग्रेजसँगको युद्ध पश्चात यिनका पनाती गिर्वाण युद्ध विक्रम शाहले सुगौली सन्धि वि.सं. १८७२मा पूर्वमा मेची नदि र पश्चिममा काली नदि हुने गरी सम्झौता गरेका थिए ।
सुगौली सन्धि वि.सं. १८७२ पछि शाह बंशका राजाहरु बिस्तारै विलासितामा जिवन बेतित गर्न थालेका र उनिहरु आपसी स्वार्थमा लिप्त भई झैभगडामा मात्र लागेका ईतिहास अनुसार भन्न सकिन्छ । यसैका परिणाम स्वरुप १०४ वर्षीय राणा कालको उदय भएको थियो । यस अवधिमा शाह राजाहरु अधिकांश धरायसी समस्याको उल्झनमा फसेको पाइन्छ । राणा शासनको अन्त्यपछि राजा त्रिभुवनले पनि खासै राष्ट्रका निम्ती योगदान दिन नसकेको र राजा महेन्द्रले ३० बर्षे पन्चायती ब्यवस्थाको स्थापना गरेका थिए । यस पछि राजा विरेन्द्रले पनि उल्लेखनीय काम नगरेको र उनकै पालामा शाहकालिन ईतिहास अन्त्यको विजारोपण भई राजा ज्ञानेन्द्रको पालामा नेपालमा शाह बंशजको राज्य प्रणालीको अन्त्य भई संघीय गणतान्त्रीक राज्य व्यवस्थाको सुरुवात भएको थियो ।
पृथ्वीनाराण शाहले आधुनिक नेपाल राज्यको निर्माण गरी वंशजको राज्यव्यवस्था स्थापना गरी आफ्ना छोरा नातिलाई राज्य छाडेर गए पनि उनको वंशजहरुले धेरै पुस्तासम्म व्यवस्था गरेको आभाष हुन्छ । राणा शासनको अन्तसम्म आउँदा पनि उनको जन्मदिन समेत मनाउने नगरेको हुँदा यसो भन्नु सान्दर्भिक नै हुन्छ । वि.सं. २००९ साल पछि मात्र योगी नरहरिनाथको पहलकदमीमा राष्ट्रिय एकता दिवसको रुपमा पौष २७ गते उनको जन्मउत्सव जनस्तरमा मनाउन थालिएका थियो । हाल गणतन्त्रको स्थापना देखि फेरि जनस्तरमा पहिले जस्तो हर्षउल्लासका साथ यो दिवस मनाउने क्रममा केही कमि आएको आभाष हुन थालेको छ ।
हुनत पृथ्वीनारायण शाहले राज्य एकीकरण त गरे तर सांस्कृितक एकीकरण गर्न भने सकेका थिएन । उनी पछिका शाह वंशीय राजाहरुले पनि यसमा खासै चासो दिएका थिएनन् । उनैले भनेका थिए नेपाल चार जात छत्तिस बर्णका फुलबारी हो । यति धेरै जात र वर्ण भएको देशमा सबैको पहिचान हुने गरी सहअस्तित्वको भाईचारा सम्बन्ध विस्तारमा केही पहल भएका त थिए तर जति हुनु पर्ने हो त्यति हुन नसकेको र केही शासकले त झनै श्रृंखलाबद्ध रुपमा वर्णको आधारमा विभेदको नीति तय गरी सामाजिक रुपमा गहिरो खाडल खन्ने काम गरेको पाइन्छ । यसको ज्वलन्त उदाहरण जंगबहादुरले जारी गरेको मुलुकी ऐन पनि हो ।
समयको अन्तरालमा जनस्तरमा राजनैतिक पार्टीहरुको उदय भयो । उक्त पार्टीहरुले राज्यसत्ता प्राप्तीका निम्ती यिनै सामाजिक असमानता र अन्तरविरोधहरुलाई आधार बनाई तत्कालीन राज्यसत्तालाई प्रहार गर्दै गए । फलस्वरुप राणाकालिन युगको अन्त्य भयो । ३० वर्षे पन्चायती शासनको पनि अन्त्य भयो । गणतान्त्रिक मुल्ुकका निम्ती आन्दोलनको सुरुवात भयो । यो आन्दोलनमा तत्कालिन राज्यसत्ताको मात्र विरोध नभई कतै–कतै पृथ्वीनाराण शाह माथी पनि हमला गर्ने कार्य भयो । उनको शालिकहरु नष्ट गर्ने तथा उनले गलत गरे भन्ने सम्म पनि तर्कहरु गर्न थालियो । कतिपय राजनैतिक पार्टीका नेताहरुले आधुनिक नेपालको निर्माताको बारेमा गलत अनर्गल प्रचारबाजी गर्ने काम पनि गर्न थाले ।
यो गलत भयो भन्ने बारेमा मत राख्नेहरु पनि उल्लेखनीय मात्रामा नभएका होइनन् । यसैको परिणाम स्वरुप अहिले उनलाई सम्झनेहरुको मत बढ्दै गएको । आजका युवा तथा बालबालिकाहरुमा राष्ट्र निर्माताको गौरवशाली ईतिहासको सहि ज्ञान दिने र उनीहरुको मनमा सम्मान भावको पुनरावृत्ति गर्नु नितान्त आवश्यक भएको छ । झण्डै ३०० वर्ष पहिलाको गोरखा, त्यो उजाड अनि रुखो डाँडामा जन्म लिएर हुर्केका एक युवक जसले नेपाल राष्ट्रको निर्माण गरे । त्यो युवाको उत्साह, जोस, जाँगर तथा परिकल्पना साँच्चै उदाहरणीय छ । यो विषयमा अहिलेका नवपिढीहरुलाई ज्ञान दिनै पर्ने हुन्छ अनि मात्र उनीहरुमा राष्ट्र प्रेमको भावना विकास गर्न सकिने र समृद्ध राष्ट्र निर्माणको अभियानले सफलता लिन सक्छ । यसैले एकता दिवस भव्यताका साथ मनाऔ र राष्ट्र निर्माताका सम्झना गरौ ।

