

पोखरा,
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउँ भनी शुक्रबार प्रदेश सभामा प्रस्ताव पेस गर्नुभएको थियो । उहाँको पक्षमा ३१ मत परेको र विश्वासको मतको विपक्षमा २७ मत परेको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो ।
प्रदेश सभामा सभामुखसहित ५९ जना सहभागी थिए । ५८ जनाले पक्ष र विपक्षमा मतदान गरेका थिए । २९ जेठमा मुख्यमन्त्री नियुक्त हुनु भएका पोखरेलले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार मत माग्नु भएको हो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो ।
पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार गठनको प्रक्रिया अघि बढेको थियो । काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो । जनमोर्चा सांसद कृष्ण थापाको पद सर्वोच्चले खारेज गरिदिएपछि सभामा सांसद कायम संख्या ५९ छ । मुख्यमन्त्रीलाई काँग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जनमोर्चा र जसपाका २/२ तथा स्वतन्त्र सांसद दिपक मनाङ्गेको साथ छ ।

