

हेटौंडा,
बागमती प्रदेश अन्तर्गत भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनु भएको छ । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै देवकोटा विजयी हुनुभएको हो ।
उहाँले ५ हजार ८८ मतभार पाउनु भएको छ भने बादलले ४ हजार १४ मतभार पाउनु भएको निर्वाचन आयोगले जनाएको छ । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको झलनाथ खनाल माधवकुमार नेपाल समूहको समर्थन थियो ।
बागमती प्रदेशसभाका १ सय ५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए । त्यस्तै बागमती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३३ जनाले मतदान गरेकामा देवकोटाले एक सय २८, बादलले एक सय ३ र तामाङले २ मत पाए ।
राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।
विजयी भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै डा. खिमलाल देवकोटाले राजनीतिक दलको समर्थनमा स्वतन्त्र नागरिकले निर्वाचन जितेर इतिहास रचेको बताउनुभयो । ‘हामीले इतिहास रचेका छौं, किनभने स्वतन्त्र नागरिकलाई मेजर पोलिटिकल पार्टीले सपोर्ट गरेर चुनावमा उठाउनु भनेको नेपालको पहिलो अनुभव होला, संसारमा पनि सायद पाइदैन ।’ उहाँले भन्नुभयो, ‘यो मेरो मात्र विजय होइन, स्वतन्त्र रुपमा कलम चलाउने, बहस गर्नेहरुको पनि जित हो ।’
राष्ट्रियसभा विज्ञहरुको थलो भएको बताउँदै देवकोटाले अब त्यहाँ प्रदेश र स्थानीय तहको पक्षमा आवाज उठाउने प्रतिवद्धता गर्नुभयो । ‘संघीय राज्यहरुको अभ्यास हेर्ने हो भने अपर हाउस हो भनेको सब नेसशनल गभर्मेन्टको आवाज बोल्ने थलो हो’ उहाँले भन्नुभयो, ‘निर्वाचित जनप्रतिनिधि जसले निर्वाचित गरेको हो त्यसप्रति जवाफदेही हुने हो । विगतमा त्यो जवाफदेहीता पाएनौं, म निर्वाह गर्छु ।’

तस्वीरः युवराज दुलाल शरदको फेसबुकबाट साभार ।

