

गोरखा,
भूकम्पपछिको पुनर्निर्माणका क्रममा तयार भएको सबैभन्दा ठूलो एकीकृत बस्ती गोरखाको लाप्राकका लाभग्राहीलाई जग्गाधनी पुर्जासहित तयार भएको घर हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विहीबार गोरखाका धार्चे गाउँपालिकास्थित लाप्राक एकीकृत बस्तीमा आयोजित एक कार्यक्रममा संयुक्त रुपमा घर हस्तान्तरण गर्नुभएको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा गोरखाको धार्चे गाउँपालिकाको गुप्सीपाखामा ५ सय ७३ घरसहितको एकीकृत बस्ती तयार भएको हो । प्राधिकरणले जग्गा उपलब्ध गराउने तथा पूर्वाधार निर्माणमा सहयोग गरेको हो भने गैरआवासीय नेपाली संघले घर निर्माणमा सहयोग गरेको हो ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावालीले एकीकृत वस्तीका लाभग्राहीहरुलाई जग्गाधनी पुर्जा (लाजपुर्जा) हस्तान्तरण गर्नुभयो ।
घर तथा पुर्जा हस्तान्तरणपछि आफ्नो मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प प्रभावित लाप्राकवासीलाई घर निर्माणमा सहयोग पु¥याएकोमा गैरआवासीय नेपाली संघ र संसारभरि छरिएर रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धन्यवाद दिनुभयो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नमूना बस्तीमा होमस्टेलगायत दिगो जीविकोपार्जनका कार्यक्रमहरु संचालन गर्न सुझाव दिनु भयो । उहाँले बर्षातको पानी निकास र ढल व्यवस्थापन लगायत पूर्वाधार निर्माण गर्न बजेटको व्यवस्था भइरहेको जानकारी समेत गराउनुभयो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले भूकम्प प्रभावित दाजुभाइलाई सहयोग गर्न पाउँदा संघआबद्ध सम्पूर्ण नेपालीलाई खुशी मिलेको बताउँदै लाप्राक एकीकृत बस्तीका जनताको जीवनस्तर माथि उठाउन संघले भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा संघीय सांसद हरिराज अधिकारी, धार्चे गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङ, प्राधिकरणका कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्मा, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) गोरखाका आयोजना प्रमुख रामशरण आचार्य, गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामा लगायतको उपस्थिति थियो ।




