

काठमाडौं,
सरकारले सहरी क्षेत्रका विद्यालयको भौतिक उपस्थिति बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल, कलेज सहितका शैक्षिक संस्था बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
यसअनुसार काठमाडौं उपत्यकाका सबै महानगरपालिका र नगरपालिकाका विद्यालयहरु बन्द हुनेछन् । ललितपुरको कोन्ज्योसोम, बाग्मती र महांकाल गाउँपालिकालाई भने समावेश नगरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले जानकारी दिनुभयो ।
उपत्यकाबाहिर विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका तथा इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकामा पनि वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द उहाँको भनाइ छ ।
मेचीनगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर र भीमदत्तनगर नगरपालिकामा पनि शैक्षिक संस्थामा विद्यार्थी भौतिक रुपमा उपस्थित नभई वैकल्पिक विधिबाट शैक्षिक गतिविधि गर्नुपर्नेछ ।
सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न ३० बुँदे निर्णय गरेको छ । सरकारले सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने निर्णय गरेको छ ।
यदि मास्क नलगाए १० रूपैयाँ जरीवाना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले बताउनुभयो ।
त्यसैगरी गाडीलाई नियमित सेनिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाई यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै मन्त्रिपरिषद्को सोमबारको बैठकले होटल तथा रेष्टुरेन्टमा बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खुल्ने र त्यसभन्दा अघि र पछि होम डेलिभरीको व्यवस्था मात्रै उपलब्ध गराउन पाउने भनेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकको ३० बुँदै आदेशः
https://drive.google.com/file/d/1N4f225lsOqGOWYtLqXxn44oduko9WrkG/view

