

काठमाडौं,
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाको दर्ता खारेज गर्दै फेरि एकीकरण गर्ने भए केन्द्रीय समितिको निर्णयसहित १५ दिनभित्र आयोगमा आउन भनेको छ । मँगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।
निर्वाचन आयोगले नेकपा खारेजीसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण अघिको अवस्थामा रहेको जानकारी संघीय संसद सचिवालय र सातवटै प्रदेशसभालाई जानकारी दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पनि नेकपा खारेजीसँगै दल साविकको अवस्थामा कायम रहेको जानकारी दिने निर्णय भएको उहाँको भनाई छ । आयोगले राजपत्रमा पनि खारेजीको सूचना प्रकाशित गर्ने भएको छ ।
‘साविकमा राजनीतिक दलका रूपमा रहेको नेकपा एमाले र माओवादी केन्द्र अलग(अलग राजनीतिक दलका रूपमा सविककै अवस्था २०७५ जेठ २३ भन्दा अघि रहेको सूचना प्रकाशत गर्नेु,’ आयोगको निर्णयमा भनिएको छ ।
निर्वाचन आयोगले यसअघि गोपाल किराँतीको नाममा रहेको नेकपा माओवादी केन्द्रलाई नयाँ नाम र चुनाव चिन्ह तथा सन्ध्या तिवारीको नाममा रहेको नेकपा एमालेलाई नयाँ नाम प्रस्ताव गर्न सुझाएको छ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेलको भएको फैसला गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका छन् । ती पार्टी ब्युँतिएपछि उक्त नाममा आयोगमा यसअघि दर्ता भएका किराँती र तिवारी नेतृत्वको पार्टीको नाम सुधार गर्न आयोगले भनेको हो ।
हेर्नुहोस् आयोगको विज्ञप्तिः



