

कनठमाडौं,
प्रचण्ड नेपाल समूहको स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका नेताहरु अलग अलग भएर जाने निर्णय गरेको छ । पेरिसडाँडा कोटेश्वरमा सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै रहने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको फैसला पछिको रणनीति तय गर्न सोमबार प्रचण्ड नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको थियो ।
प्रचण्ड नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको असहमति हुँदाहुँदै कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । नेकपा पार्टीको नामबाट हुने सोमबारको बैठक अन्तिम बैठक पनि हुन सक्ने उहाँको भनाइ थियो । ‘यस प्रकारको बैठक यो अन्तिम हुन सक्छ, सर्वोच्च अदालतको फैसला कार्यान्वयनको चरणमा जाने नै भयो’ उहाँले भन्नुभयो ।
नेता श्रेष्ठले सर्वोच्च अदालतको फैसला राजनीतिबाट प्रेरित भएको प्रतिक्रिया दिनुभयो । ‘सर्वोच्चको फैसला रिट निवेदकको मागदावी भन्दा बाहिर गएर गरिएको राजनीतिक फैसला हो’ उहाँले भन्नुभयो, ‘पार्टीको नाम सम्बन्धमा परेको रिटमा नामका बारेमा निश्कर्ष निकाल्नुपर्ने, आदेश गर्नुपर्ने यसको उत्तरदायित्व जिम्मेवारी हुँदाहुँदै त्यसभन्दा बाहिर गएर फैसला गरिएको छ ।’
बैठकपछि प्रतिक्रिया दिँदै नेता माधवकुमार नेपालले आफूहरू जहाँ रहे पनि बाम एकताको प्रयास जारी रहने बताउनुभयो । ‘हाम्रो विशाल छाती छ । सबैलाई समेट्न सक्छौं । सम्भावनाहरू अझै धेरै छन् ।’ उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगमा पनि छुट्टै रुपमा एमाले र माओवादी दर्ता रहेकाले आयोगसँग यसबारेमा परामर्श गरेर अगाडि बढ्छौं ।’
सर्वोच्च अदालतको फैसलाले नै एमाले र माओवादी केन्द्रलाई दुई पार्टी बनाइदिएको उहाँको भनाइ छ । ‘आयोगमा अलग/अलग रूपमा एमाले र माओवादी पार्टी दर्ता भएका छन् । यी पार्टी के हुने हो भन्ने पनि टुंगो छैन । आयोगसँग गम्भीर रूपमा छलफल गरेर अघि बढ्छौं,’ नेता नेपालले भन्नुभयो ।

