२०८३ भदौ १४, आइतवार
 

प्रतिनिधिसभाको बैठकमा सभामुखले यस्तो भन्नुभयो

prabhu bank home loan

अग्निप्रसाद सापकोटा,

माननीय सदस्यहरु !

सम्मानित सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनः क्रियाशील भएको यस प्रतिनिधिसभाको सातौं अधिवेशनको पहिलो बैठकमा सम्पूर्ण माननीय सदस्यहरुलाई हार्दिक स्वागत गर्दछु । जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने यो सर्वोच्च थलो पुनर्स्थापित भएको सुखद अवसरमा सम्पूर्ण माननीय सदस्यहरु, यो सभालाई पुनः क्रियाशील बनाउन योगदान गर्ने सम्पूर्ण निकाय तथा महानुभावहरु र आम जनतालाई बधाई पनि ज्ञापन गर्न चाहन्छु ।

लोकतन्त्रको सार्वभौम मान्यता, संविधानको मर्म र भावना अनुसार प्रतिनिधि सभालाई पुनर्स्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सम्मानित सर्वोच्च अदालतप्रति आभार प्रकट गर्दछु । यस ऐतिहासिक फैसलाबाट संविधान र कानुनको अन्तिम व्याख्या गर्ने संवैधानिक अधिकार प्राप्त सर्वोच्च अदालतप्रति आम जनताको भरोसा बृद्धि भएको छ ।

प्रतिनिधि सभाको जीवनमा यस्ता उल्लेखनीय मोडहरु निकै कम हुन्छन्, हामी त्यस्तै ऐतिहासिक समयको साक्षी भएका छौं । वि.सं. २०७७ फाल्गुन ११ सँगै आजको दिन पनि इतिहासको पानामा स्मरणीय हुने नै छ ।

माननीय सदस्यहरु !

यहाँहरु अवगत नै हुनुहुन्छ, ऐतिहासिक संविधान सभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गर्यो । नेपालको संवैधानिक इतिहासमा जनताले आफ्ना प्रतिनिधिमार्फत् आफ्नो संविधान निर्माण गरेको यो पहिलो पटक हो । संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई अवलम्वन गर्दै शक्ति सन्तुलन र नियन्त्रण सहितको संवैधानिक सर्वोच्चतालाई स्वीकार गरेको छ । प्रतिनिधि सभाको पुनः क्रियाशीलतासँग यो मान्यता अझ स्थापित भएको छ ।

सम्मानित सर्वोच्च अदालतको फैसलाले संविधानमा प्रतिनिधि सभाको पूर्ण कार्यकाल र त्यसमार्फत् स्थिरताको जुन परिकल्पना गरेको थियो, त्यो स्थापित भएको छ । सम्मानित सर्वोच्च अदालतबाट यसको विहंगम् व्याख्यामात्र भएको छैन, भविष्यमा जनताको नेतृत्व गर्नेहरुलाई मार्गदर्शन पनि गरेको छ । राष्ट्रिय राजनीतिमा देखिएका उल्झनहरु जनताको सार्वभौमसत्तासम्पन्न निकायमा संवाद र बहसमार्फत् सुल्झाउनुपर्छ भन्ने संविधानको मर्म र भावना उज्यालिएको छ ।

संवैधानिक व्यवस्थाअनुरुप संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य चलिरहँदा अप्रत्यासित रुपमा २०७७ पौष ५ गते प्रतिनिधि सभालाई अबरुद्ध गरियो । नेपाली जनतामा निहीत सार्वभौमसत्ताको प्रतिनिधिमूलक संस्था, प्रतिनिधि सभाको प्रमुख पदाधिकारीको हैसियतमा संविधानको रक्षार्थ सम्बद्ध पक्षको ध्यानाकर्षण गर्न एवं आवश्यक पहलकदमी लिन गरिएको प्रयास माननीय सदस्यहरुलाई अवगत नै छ । इतिहासले यसको उचित मूल्यांकन जरुर गर्नेछ ।

माननीय सदस्यहरु !

यस प्रतिनिधि सभाले सातौं अधिवेशनसम्म आइपुग्दा नेपालको संविधान र प्रतिनिधि सभा नियमावलीले व्यवस्था गरेका आफ्नो नियमित काम गर्नुका साथै संविधान कार्यान्वयन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

प्रतिनिधि सभा पुनः क्रियाशील भएसँगै हामीमाथि इतिहासले केही गहन जिम्मेवारी पनि थपेको छ । केही वृत्तबाट विगतका विसंगतिपूर्ण अभ्यास दोहोरिने आशंका उत्पन्न भइरहेको सन्दर्भमा यस सभालाई जीवन्त, गतिशील र थप जनमुखी बनाउन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दल एवं माननीय सदस्यहरुको भूमिका महत्वपूर्ण हुन्छ ।

स्थिरता र यसमार्फत् जनताको समृद्धिको चाहनालाई सम्बोधन गर्न यो सभा आफ्नो जिम्मेवारी निर्वाहमा कामयावी हुने नै छ । जनताको भरोसाको धरोहरका रुपमा रहेको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थालाई व्यवस्थित, मर्यादित तथा गरिमामय बनाउन सम्पूर्ण माननीय सदस्यहरुबाट सदा झैं साथ र सहयोग रहनेमा म विश्वस्त छु । धन्यवाद !

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने