

काठमाडौं,
सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको हो ।
सहमति पत्रका तीन बुँदा
१) दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।
२) नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।
३) नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।
सरकारले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्र सल्लाहकार डा राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो भने विप्लव समूहले खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने दीपक सम्मिलित वार्ता टोली बनाएको थियो । दुवै तर्फका बार्ता टोलीले वार्ता गरी बिहीबार सहमति गरेका थिए । सोही सहमतिलाई शुक्रबार विशेष समारोहका बीच हस्ताक्षर सहित सार्वजनिक गरिएको हो ।
वैज्ञानिक समाजवादबारे जनमत संग्रहः विप्लब
नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले शान्तिपूर्ण राजनीतिमा आउने सहमतिप्रति प्रतिवद्ध रहेको बताउनु भएको छ । तर, ६ वर्षअघि लिएको एकीकृत जनक्रान्तिको कार्यक्रम भने कायमै रहेको पनि उहाँको भनाइ छ । वर्तमान संसदीय प्रणालीमा रहेको कमजोरीको व्याख्या गर्दै वैज्ञानिक समाजवादबारे जनमत संग्रहको माग पनि राख्नु भएको छ ।
विप्लवले भन्नुभयो, ‘हाम्रो अहिले पनि भनाइ छ, नेपालमा आज कसैले पनि सुरक्षित अनुभूति गर्ने स्थिति छैन । सबै नेताहरुलाई, पार्टीहरुलाई र जनतालाई आफ्नो जीवनमाथि आफैं हावी भएकोरनेतृत्व गरिरहेको अनुभूति भएको छैन । हरेक घटनाक्रममा एउटा ठूलो तरंग नेपाली जनताको बीचमा छ, अहिले पनि छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनु भएको छ । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित समारोहमा उनले नेपालमा अब हिंसात्मक द्वन्द्व नरहेको उहाँको भनाइ छ । ओलीले भन्नुभयो, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरिरहेको छैन । यसको अर्थ नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ ।’
लामो संवादपछि विप्लब समूह शान्तिपूर्ण राजनीतिको बाटोमा आएको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘यो फोर्स ल्याण्डिङ पनि होइन, क्र्यास ल्याण्डिङ पनि होइन, सेफ ल्याण्डिङ हो ।’ शान्तिपूर्ण राजनीतिमा आउने कदमबाट नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली जनताको मन जितेको पनि उहाँले बताउनुभयो ।

