

काठमाडौं,
कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको छैठौं दिन सोमबारसम्म देशभर १ लाख १३ हजारभन्दा बढीले खोप लगाएका छन् ।
देशभरका ७७ जिल्लाका १ सय ९१ खोप केन्द्रबाट कुल १ लाख १३ हजार १ सय ७५ जना लक्षित वर्गले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।
प्रदेश १ मा १५ हजार ३ सय २९, प्रदेश २ मा १५ हजार २४ र बागमती प्रदेशमा ४० हजार २ सय ७२ जनाले खोप लगाएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
त्यस्तै गण्डकी प्रदेशमा १३ हजार ९ सय २२, लुम्बिनी प्रदेशमा १४ हजार ६ सय ४०, कर्णाली प्रदेशमा ६ हजार १ सय ३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८ सय ५७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

