

काठमाडौं,
देशभर २९ हजार ८ सय ८६ वटा प्रारम्भिक सहकारी रहेको सहकारी विभागले जनाएको छ । देशभरका सहकारीबारे संकलन गरेको तथ्यांक अनुसार सहकारी संस्थामा ७३ लाख ७ हजार ४ सय ६२ जना आवद्ध भएका छन् । जसमा ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष सदस्य छन् ।
विभागले २०७७ साउनदेखि कात्तिकसम्म सातै प्रदेश तथा स्थानीय तहहरुको सहकार्यमा गरेको अध्ययन अनुसार संघीय सरकार अन्तर्गत एक सय २५, प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेको उपरजिष्टार सुरेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।
‘देशभरका सहकारीमा कुल शेयर पूँजी ९४ अर्ब १० करोड ५० लाख १५ हजार रहेको छ भने ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख रुपैयाँ बचत रहेको छ । सहकारीले ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख रुपैयाँ लगानी गरेका छन् ।’ उपरजिस्टार सुरेन्द्रराज पौडेलले भन्नुभयो, ‘सहकारीले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको तथ्याङ्क पाइएको छ । यो तथ्याङ्क संघीयता कार्यान्वयनअघि ६६ हजारको हाराहारीमा थियो ।’
सहकारी विभागले उक्त प्रतिवेदन अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको छ ।





