

काठमाडौं,
प्रतिनिधिसभा विघटनको घोषणा भएको ४ दिनपछि सभामुख अग्निप्रसाद सापकोटाले औपचारिक प्रतिक्रिया दिनुभएको छ । बुधबार विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट व्यवस्था गरिएको जिकिर गर्नु भएको छ ।
संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको सभामुखद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
‘यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो । विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ’ उहाँले भन्नुभएको छ ।
तर संसद अधिवेशन सुरु गर्ने गृहकार्य भइरहेका बेला अवरोध सिर्जना भएको भन्दै सिंगो प्रतिनिधिसभा र आफू मर्माहत भएको उहाँले उल्लेख गर्नु भएको छ । सभामुख सापकोटाले संविधानको रक्षाका लागि राजनीतिक दलहरुबीच फेरि एक पटक उच्चस्तरीय समझदारीको आवश्यकता देखिएको बताउनु भएको छ ।
‘संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको छ । साथै, संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरु, राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको छ’ विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस् सभामुखद्धारा जारी विज्ञप्तिः


