

अमित मसुरकरको ‘शेरनी’ हेरियो । यो शब्द आफैंमा एउटा विम्ब हो । जसरी उनको अघिल्लो फिल्मको शीर्षक ‘न्युटन’ एउटा विम्ब थियो । ‘न्युटन’ भारतको एउटा त्यस्तो कर्मचारीको कथा थियो जसलाई आफ्नै इमान्दारी र आदर्शको घमण्डले जमिनतिर तानिरहेको थियो । जब यो कर्मचारीको भेट आफ्नो हातमा रहेको बन्दुकको भारलाई देशको भार ठान्ने सुरक्षा अधिकारीसँग हुन्छ र यी दुई मिलेर छत्तिसगढको माओवादी प्रभावित आदिवासी इलाकामा चुनाव गराउन खोज्छन्, ‘न्युटन’ त्यो भोट बाक्सामा नत्थी गरिएको लोकतन्त्रको कथा थियो ।
‘शेरनी’चाहिँ एकसाथ ‘दुई स्त्री’ को कथा हो । एउटा आफ्ना बच्चासहित मानव बस्ती पार गरेर यात्रा गरिरहेकी जंगलकी बघिनी र अर्की जंगल र जनावरको रक्षामा खटिएकी डिएफओ । जिल्ला वन अधिकृत विद्या भिनसेन्ट खासमा यो कथाकी बघिनी हो र कथाकी बाघ । फिल्ममा केही गजबका सहायक पात्र छन् । एउटा लम्पट हाकिम, केही निरिह सहायकहरु, एउटा इमान्दार अनुसन्धाता र झल्लु सिकारी ।
जंगलले एउटामात्रै जनावरलाई सहारा दिँदैन । जंगलले हरिण र उसको शिकारी बाघ दुवैलाई उत्तिकै अवसर दिन्छ । सबैका लागि जंगल उस्तै छ । फरक खाली उसको आफ्नो चरित्रका कारण हुन्छ । जंगलको शिकार र शिकारी दुवैले भरिएको हुन्छ । जो बाँच्यो त्यो शिकारी, जो मर्यो त्यो शिकार । यही कुरा सहरको सन्दर्भमा पनि भन्न सकिन्छ ।
फिल्मले उठाउने प्रश्नचाहिँ मान्छे र बाघमा को बढी खतरनाक रु को कसको शत्रु ? भन्ने हो । बाघ मान्छेको बस्तीतिर आइरहेको हो कि मानिसले बाघको बस्ती अतिक्रमण गरिरहेको हो ? बाघ संसारबाटै लोपोन्मूख भएकाले यसलाई जोगाउनु पर्ने भएबाटै थाहा भइहाल्छ, अतिक्रमणकारी को हो भन्ने कुरा !
निर्देशक अमित यस्ता कुरा फिल्ममा सोझै बोल्दैनन् । तर जब बघिनीको बाटो नै छेक्ने गरी जंगल फँडानी गरिएको र खनिज उत्खनन् गरिएको क्षेत्रमा पुगेर शेरनी विद्याले आँसु पुछ्छे दर्शकलाई थाहा हुन्छ, आतंक कसले मच्चाइरहेको छ । फिल्मले अर्को एउटा आयामको पनि उठान गर्छ, राजनीतिका नाममा भोट बटुल्न र दादागिरीमात्र देखाउन जान्नेहरुले कसरी हरेक कुरालाई भोटसँग साट्छन् । न विकासको कुनै भिजन छ न समाजलाई सकारात्मक दिशातिर लैजाने कुनै सोच !
खाली दिमाग र लठैत कार्यकर्ता भएका नेतालाई के चाहियो ? उनीहरु बाघलाई नै आतंककारी घोषित गर्छन् । कोही बाघ मार्ने शिकारी लिएर आउँछ कोही सरकारले मान्छेभन्दा बाघलाई बढी महत्व दिएको भनेर आगो बाल्नतिर लाग्छ । यो सबका बीच भारतको कर्मचारीतन्त्र चल्नै शैली, सोच र दर्शन कसरी मक्रालिएको काठजस्तो खोक्रो छ भन्ने दर्शाउन निर्देशक बाघको साहारा लिन्छन् । न्युटनमा छत्तिसगढका माओवादीको आतंक द्वन्द्वलाई अघि बढाउने तत्व थियो । शेरनीमा त्यो बाघिनी छ । यी दुवै जंगलबासी ! दुवैका शिकारी तैनाथ । र, दुवै शिकार गर्न पनि तैयार !
भारत वरपर झन्डै ४२ वटा नरभक्षी बाघको शिकार गरेका शिकारी केनिथ एन्डरसनले लेखेको एउटा मेमोयर पुस्तक छ ‘कल अफ दि म्यानइटर’ । यो मैले आजसम्म पढेका मध्ये अद्भूत लागेको पुस्तक हो । जंगलबारेको यति सघन अनुभूति सितिमिति पढ्न पाइदैन र बाघबारे जानकारी पनि । एन्डरसनको एउटा भनाई छ, बाघबाट मानिसलाई तबसम्म खतरा छैन, जबसम्म बाघलाई मानिसबाट खतरा छैन ! जंगल बाघको साम्राज्य हो । त्यहाँ उसका केही नियम छन् ।
त्यो नियमलाई मानिसले लगातार तोडिरहने हो भने बाघले त्यसले सजाय दिन्छ । र, बाघ किन नरभक्षी हुन्छ भन्नेमा पनि उनको खोजका केही निष्कर्ष छन् । हालै बर्दियामा बाघ र मानिसको द्वन्द्वका केही घटनाहरु देखिएका छन् । त्यसको गतिलो अध्ययन नगरी सोझै निष्कर्ष पेश गर्ने प्रवृति पनि देखियो तैपनि यसको अध्ययन हुने हो भने बाघ र मानिसको आगामि सम्बन्धका पहेलीहरु खुल्न सक्छन् ।
मानव सभ्यताको कथा नै खासमा प्रकृतिसँगको संघर्षमा मानिसले आफूलाई कसरी निखार्दै थप बुद्धिमान बनाउँदै ल्यायो भन्ने आख्यान हो । यो आख्यान किन हो भने बुद्धिको कुरा मानिसको कल्पना हो । यो यात्रामा बाघ शिकारी युगदेखिकै प्रमुख पात्र हो । मान्छेको इतिहास र साहित्यलाई हेर्ने हो भने बाघ एउटा ठूलो डरको विम्बका रुपमा उपस्थित भएको पाइन्छ । खासमा डरको कल्पना र त्यसलाई जित्ने तरिकाको आविस्कारले नै मानिसलाई अघि बढ्न सिकाएको हो । अन्य प्राणीसँग त्यो कल्पना गर्ने शक्ति नभएका कारण उनीहरुको विकास हुन सकेन भन्ने युवल नोहा हरारी आफ्नो पुस्तक स्यापियन्समा लेख्छन् ।
प्रकृति र पर्यावरणको दोहनलाई नै विकास मान्ने मानिसको सोचको सबभन्दा ठूलो नमूना नेपाल सरकारले ढुंगा रोडा बेचेर विदेशीको ऋण तिर्ने नीति बजेटमै ल्याएर प्रस्तुत गरिसकेको छ । एकातिर मानव वस्तीतिर अघि बढिरहेकी र घेरामा पर्दै गइरहेकी बघिनी छ । अर्कातिर कर्मचारीतन्त्र, नेताहरुका अर्कमण्यता र अबुझ परिवारले घेरा हालेकी बघिनी छ । एक हिसाबले हेर्दा यी दुवैको अस्तित्व संकटमा देखिन्छ । फिल्म यो द्वन्द्वका कारण पनि रोचक छ । यी दुई शेरनीको भेट कस्तो होला ? यसका लागि फिल्म हेर्नुस् ।
‘शेरनी’ मानिस र प्रकृतिको सम्बन्धलाई कसरी सुधार्नुपर्छ भन्ने पनि कथा हो । र, मानिस मानिसबीचको सम्बन्ध कसरी सुधार्नुपर्छ भन्ने पनि कथा हो । एकातिर बाघको त्रास छ अर्कातिर बन्दुक बोकेर हिँड्ने उत्तिकै खतरनाक मान्छे छन् । भोटका लागि जे पनि गर्न तयार नेता छन् । आफ्नो प्रमोसनका लागि सरकारी काममा झेल गर्ने कर्मचारी छन् । र, एउटी विवेकशील युवतीलाई आफ्नो पुरातन सोचमा ढाल्न निमग्न नातेदारहरु छन् । के यी मानिसका लागि बाघभन्दा बढी खतरनाक छैनन् ? यस्ता सोच भएका मानिसका हातमा कुनै देशको कर्मचारी तन्त्र छ भने त्यो व्यवस्था जंगलको बाघजस्तै लोप हुने खतरामा छैन ?
बस, मसुरकरले यस्ता प्रश्न उठाएका छन् । यसको उत्तरबारे विमर्श गर्ने होमवर्कचाहिँ निर्देशकले दर्शकलाई नै दिएका छन् । यसरी दर्शकको दिमागमा केही विचार र प्रश्नहरु हालेर छोड्ने निर्देशक मलाई मन पर्छन् । कुनै चोरले साफ गरेको आलमारीजस्तो दर्शकको दिमाग पनि थुतेर लैजाने निर्देशकहरुले मनोरञ्जनको परिभाषा गरेको देखेर दिक्क भइरहेका बेला त झन् यस्ता निर्देशकको मूल्य झन् बढेर जान्छ !!

