

आनन्दकला राई
पानीमा राजनीति
मेलम्ची आयोजना तुहिन्छ
पूर्वाधार निर्माणमा राजनीति
ठेकेदारको भुडी लाग्छ
उखुमा राजनीति
उद्योगपति फस्टाउँछ
मलमा राजनीति
टेन्डरवालाको नाफा चुलिन्छ
राजनीति त फोहरी गन्धे खेल नै रहेछ
लौ न ! तिम्रो राजनीति योभन्दा बढी
दुर्गन्धित नबनाऊ ।
खै त !
तिमीले गर्ने राजनीतिको प्रजातन्त्रमा
जनजीबिकाको कुरा
खै त !
सहिदले ल्याएको गणतन्त्रमा
जनयुद्धले दिएको कार्यदिशा
त्यहाँ श्रमिक वर्गको जीवन पद्धति
देखिनु पर्दैन ?
गाँस, बाँस र कपासमा
जनताको अधिकार देखिनु पर्दैन ?
तिमिले गर्ने राजनीति जे भए पनि
दलाल र पूजिपती वर्गकै
पक्षपोषण हुन्छ भने !
मुठ्ठीभर सामन्ती वर्गकै
भलाइको काम गरिन्छ भने !
तिम्रो अवसरबादी त्यो गठबन्धन
कम्युनिस्टको मुखुण्डो लाएको त्यो
बहुरुपी तिम्रो राजनीति
फर्सीजस्तै भित्रभित्रै कुहीसक्यो
डुङ्डुङ्ती गन्हाएको छ तिम्रो राजनीति
योभन्दा बढी दुर्गन्धित नबनाऊ ।
राजनीति
राजनीति नै रहेछ
यसलाई यहाँ पेशा बनाइन्छ
सिद्धान्त, मूल्य र मान्यताको होइन
राजनीति पद र प्रतिस्ठाको गरिन्छ
अनि कहाँबाट सोच्छौ तिमी
सर्वहाराको अधिनायकत्व !
जहाँ
गुटको पनि राजनीति
फुट र जुटको पनि राजनीति
तिम्रो राजनीतिमा
आफ्नो गाउँ आफै बनाऔं
सुखी नेपाल समृद्ध नेपाल
स्वरोजगार कार्यक्रम जे भने पनि
जनताले अनुभूत गर्न नसकेको
लोकतन्त्र र गणतन्त्र
जनताले महसुस गर्न नसकेको
जनताको बहुदलीय जनवाद
वा नौलो जनवाद
माहामारीले जनता आक्रान्त !
अस्पतालमा बेड छैन, अक्सिजन छैन
औषधि, भ्याक्सिन छैन
त्यहीभित्र फेरी
कहिले सहकार्य त कहिले कारबाही
जे भए पनि भ्रष्टाचार र कमिसनखोर
विषालु कीरा बनेर
तिम्रो राजनीति खाइसक्यो
भो अब तिम्रो राजनीति
योभन्दा बढी दुर्गन्धित नबनाऊ ।
२०७८ जेठ २२ गते, कोटेश्वर

