

काठमाडौं – प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले लाइसेन्स, पासपाेर्टलगायतका सेवा लिने क्रममा नागरिकले भोग्दै आएका सास्ती अन्त्य गरी सेवा सहज बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले नागरिकले भोग्दै आएका सास्ती कम गर्ने गरी काम गर्ने निर्णय लिएको हो । मन्त्रिपरिषद्ले बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय पनि गरेको छ ।
जटिल र चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्र सुधार्न प्रभावकारी उपायमा केन्द्रित भएर अघि बढ्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल भएको छ । यस्तै, भ्रष्टाचारको अन्त्य गरी सुशासनतिर गम्भीर भएर अगाडि बढ्ने सम्बन्धमा पनि मन्त्रिपरिषदमा छलफल भएको मन्त्रीहरूले बताएका छन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले जनताले ठाउँठाउँमा भोगिरहेको सास्ती र दुःखलाई कम गराउनेबारेमा मन्त्रिपरिषदमा छलफल भएको जानकारी दिए । ‘राहदानी, लाइसेन्स लिन पनि घन्टाैँ लाइनमा बस्नुपर्ने अवस्था छ । जनताले सास्ती पाएका छन् । यसलाई अन्त्य गरी जनतालाई सहज ढंगले सेवा दिन अब यो सरकार प्रतिबद्ध हुनेछ,’ उनले भने ।
उनले वर्तमान सरकार गम्भीर रूपले जनताका समस्या सम्बोधन गर्न केन्द्रित हुने संकल्प गरेको पनि जानकारी दिए । थुप्रै जटिलता र चुनौतीका बाबजुद पनि यो मन्त्रिपरिषद्ले नयाँ आशा जगाएको उनले बताए । निर्वाचनमा मतदानको परिणामलाई यो मन्त्रिपरिषद्ले समेटेको उनको भनाइ छ । ‘केही गरिछाड्ने संकल्प भएकाहरूको नै केन्द्रीकरण भएको छ । यसकारण पनि मलाई सहज लागेको छ,’ उनले भने ।

