

काठमाडौँ – कुमारी बैंक लिमिटेडको बाईसौँ वार्षिक साधारणसभामा कोरम नपुग्दा पनि एजेण्डाहरु पास भएका छन् । शेयर धनीहरुले कोरम नपुगेको जानकारी गराउँदा गराउँदै शेयरधनीहरुलाई पेलेर अध्यक्षले प्रस्ताव गरेका महत्वपूर्ण एजेण्डाहरु पास भएका हुन् ।
बैंकका कम्पनी सचिवले कम्पनी ऐनले गरेको व्यवस्थाअनुसार कोरम नपुर्याएरै सभा सुरु गरेका थियो । बैंकले संस्थागत शेयर धनीहरुले दिएको प्रोक्सी अनुसार कोरम पुगेको बताए पनि प्रोक्सी अनुसार शेयरधनीहरुको उपस्थिति रहेको थिएन् ।
सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १२.५० प्रतिशत नगद लाभांश (कर समेत) पास गरेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित गरेको छ ।
सभाले एनसीसी बैंकसँग मर्जरका लागि समेत अनुमति दिएको छ । मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा समितिले गरेको कार्य अनुमोदन समेत गरेको छ ।
सभामा शेयरधनीहरुले गायक योगेश्वर अमात्यको जग्गा किर्ते प्रकरणमा मुछिएका पूर्वकायमुकायम सीइओ अनुजमणी तिमल्सिना र डेपुटी सीइओ मनिष तिमल्सिनालाई दिएको उपदान फिर्ता गर्न माग गरेका थिए । बैंकको बार्षिक प्रतिवेदनमा दुबै जनाले गरेको अपराधकर्मको बारेमा स्पष्ट पार्न पर्ने धारणासमेत राखेका थिए ।
साथै, उनीहरुले लिएको उपदान फिर्ता गर्न वा प्रतिवेदनमा समावेश धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ उपनियम (२) सँग सम्बन्धीत वार्षिक प्रतिवेदनको बुँदा (४) को (क) (पेज नम्बर २४) मा बैंक र बैंकका कर्मचारी विरुद्ध मुद्धा परेपछि सीइओ र डिसीइओलाई विदा गरेको र उनीहरुलाई उपदान स्वरुप रकम उपलब्ध गराएको जानकारी राख्न माग गरेका थिए ।
बैंकले जग्गा किर्ते प्रकरणमा दुई जनाको संलग्न भएको पाइएपछि बर्खास्त गर्दै उपदान दिएको थियो । सीइओ तिमल्सिनाले १ करोड ८३ लाख ५९ हजार ५ सय ८८ रुपैयाँ र डिसीइओ मनिषले १ करोड ८ लाख ८३ हजार ५९ रुपैयाँ उपदान लिएर बैंकबाट विदा भएका थिए ।

