

काठमाडौं – मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि काठमाडौंमा शुक्रबारदेखि तीनदिने फोटो प्रदर्शनी भइरहेको छ।
थाहा नगरपालिकाको आयोजना, इन्द्रसरोवर गाउँपालिकाको समन्वय र ‘फरक सोच’को व्यवस्थापनमा काठमाडौंको वसन्तपुर (कालभैरव) डबलीमा शुक्रबारदेखि सुरु भएको फोटो प्रदर्शनी आइतबारसम्म चल्नेछ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं उपत्यकाको विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी ट्राभल एजेन्सी र आमनागरिकलाई लक्षित गरेर फोटो प्रदर्शनी आयोजन गरिएको हो ।
प्रर्दशनीमा थाहा र इन्द्रसरोबरको विभिन्न विधाका करिब एक सय तस्वीरहरु अवलोकनको लागि राखिएको छ भने प्रर्दशनीमा राखिएका विभिन्न फोटोहरुको बारेमा जानकारी दिन स्वयम्सेवकहरु समेत ब्यवस्था गरिएको छ ।
थाहाको प्राकृतिक सुन्दरता, हिमशृंखला, ऐतिहासिक मठमन्दिरलगायतका पर्यटन प्रवर्द्धन गर्न फोटोको माध्यमबाट ती स्थानको जानकारी दिने उद्देश्य राखिएको नगरप्रमुख विष्टको भनाइ छ।
शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोटो प्रदर्शनीको उद्घाटन गरेका थिए। दैनिक बिहान १० बजेदेखि ४ बजेसम्म हुने प्रदर्शनीमा थाहा नगरका युवा फोटो पत्रकार गणेश विष्टले खिचेका विभिन्न विधाका करिब सय भन्दा बढि फोटो राखिएको छ।

