

काठमाडौं – जावलाखेलको खेल मैदानमा जारी २३औं पुष्प मेलामा शनिबारसम्म ३६ हजार ८०० जनाले अवलोकन गरेका छन्। मेलामा ८४ लाख ३० हजार रुपैंयाँको कारोबार भएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत १० गतेदेखि सुरु भएको मेलामा पहिलो दिन आठ हजार २०० जनाले अवलोकन गरेका थिए। उक्त दिन २१ लाख ५० हजार रुपैंयाँको कारोबार भएको थियो।

चैत ११ गते अर्थात् दोस्रो दिन ११ हजार जनाले अवलोकन गरेका थिए। उक्त दिन २७ लाख रुपैंयाँ बराबरको कारोबार भएको थियो। शनिबार तेस्रो दिन १७ हजार ८०० जनाले अवलोकन गरेका छन् र ३५ लाख ८० हजार रुपैयाँको कारोबार भएको एसोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए ।

शनिबार भएकाले अरू दिनको तुलनामा अवलोकनकर्ताको चाप रहेको उनले बताए । एसोसिएसनले ४५ हजार जनाले अवलोकन गर्ने र ७५ लाख रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य लिएकाे थियो ।

मेलामा सबभन्दा बढी बहुवर्षे फुल्ने फूलप्रति अवलोकनकर्ताकाे आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद गरिरहेको महासचिव पोखरेलले बताए ।


