२०८३ भदौ ८, सोमवार
 

फेब्रुअरी महिना आयोडिन महिना, के छन् आयोडिनका फाइदा ?

prabhu bank home loan

काठमाडौं,

आयोडिनयुक्त नुनको प्रयोगलाई बढाउँदै आयोडिनको कमीबाट हुने रोगलाई निवारण गर्ने उद्देश्यले अँग्रेजी वर्षको फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने गरिन्छ । सन् १९९८ देखि फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा विश्वभर मनाउँदै आइएको छ । चिकित्सकका अनुसार आयोडिनको कमीले गलगाड हुने गर्दछ ।

लामो समयदेखि सरकारले नूनमा आवश्यक मात्रामा आयोडिन मिलाई साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत देशभरि नै बिक्री वितरणको प्रबन्ध मिलाएपछि सो रोग हाल नेपालबाट निवारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सन् १९८५ मा सो रोगीको संख्या ४४ प्रतिशत रहेको थियो भने सन् २००७ मा आइपुग्दा शून्य दशमलव चारमा झरेको थियो ।

अर्काेतर्फ सन् २०१६ को पछिल्लो स्वास्थ्य सर्वेक्षणअनुसार ५ वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले आयोडिनयुक्त नुनको उपभोग गरेको देखिएको थियो ।

कर्पाेरेशनले हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, डोल्पा र मुगुको नुनको मौज्दात रहेको र ती जिल्लामा नूनको अभाव नभएको जनाएको छ । यसैबीच कर्पाेरेशनले आयोडिनयुक्त नूनको मात्र प्रयोग गर्न आह्वानसमेत गरेको छ ।

आयोडिनको महत्वः
सूक्ष्म पोषकतत्व आयोडिन थाइरोइड ग्रन्थीलाई सही किसिमले काम गर्न र खाएको खानालाई अधिकतम मात्रामा शक्तिमा रुपान्तरण गर्नका लागि अत्यन्त आवश्यक पर्ने खनिज पदार्थ हो । जसले शारीरिक, मानसिक बृद्घि र पाचन प्रणालीलाई सहयोग पु¥याउँछ । आयोडिन गर्भवतीदेखि जन्मेका शिशुका साथै बढ्दो उमेरका बालबालिका लगायत शारीरिक तथा मानसिक वृद्धि/विकास मात्र नभई स्वस्थ जीवनका लागि अत्यन्त आवश्यक पर्ने सूक्ष्म पोषक तत्व हो ।

आयोडिनले लिड, मर्करी जस्ता विषालु पदार्थलाई शरीरबाहिर निकाल्छ भने वयस्कलाई भन्दा शिशुलाई बढी मात्रा आयोडिनको आवश्यकता पर्दछ । आयोडिनको कमी हुँदा थाइरोइड ग्रन्थीमा उत्पन्न हुने समस्याका कारणले प्रत्यक्ष वा परोक्ष रुपमा महिलामा स्तन क्यान्सरको सम्भावना हुन्छ ।

यदि गर्भावस्थामा आयोडिनको कमी भएमा भ्रुणको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुन सक्ने, कम तौल (२५ सय ग्रामभन्दा कम) भएका शिशु जन्मने, शिशुको स्नायु, शारीरिक तथा मानसिक वृद्धि/विकास अत्यन्त कम हुने हुनाले बालबालिकाहरु गलगाँड, लाटा, लठेब्रा तथा सुस्त मनस्थितिका हुन्छन् ।

यस्ता बालबालिका तथा युवाले भविष्यमा राम्ररी लेखपढ गर्न नसकी जीवन नै अनुत्पादक बन्न पुग्छ । आयोडिन हानिकारक सूक्ष्म जिवाणुलाई नष्ट गर्न प्रयोग गरिन्छ, साथै यसले छाला, नङ र कपाललाई स्वस्थ राख्दछ ।

नेपालमा आयोडिन प्राप्त गर्न आयोडिनयुक्त नुन नै खानु पर्छ । सरकारी संयन्त्रमार्फत आवश्यक मात्रा ५० पिपिएम आयोडिन छरेको (आयोडाइजेसन) गरी थैलोमा बन्द गरिएको नुनलाई सही किसिमले उपभोग गरेमा मात्र आवश्यक मात्रामा आयोडिन प्राप्त गर्न सकिन्छ ।

५० पिपिएम आयोडिन नुनमा मिलाइएको भए पनि बजारमा भण्डारण, घाम–पानीले आयोडिन नष्ट हुने र तातो ठाउँमा राम्ररी बिर्को बन्द नगरेमा आयोडिनको मात्रा कम भए पनि कम्तीमा १५ पिपिएम आयोडिन खाद्य पदार्थमा बाँकी रहेसम्म झन्डै आयोडिनको मात्रा पुग्छ ।

त्यसकारण सकेसम्म ५० नभए पनि नभई नहुने १५ पिपिएम आयोडिन पाउनका लागि निम्नानुसार गर्नैपर्छः

१. सरकारले दुई बालबालिकाको लोगो अंकित नुनको प्याकेट (आयोनुन, शक्ति, तेजनुन र भानुजस्ता नुन) मा आयोडिन मिसाएको हुनाले दुई बालबालिकाको लोगो भएको नुनमात्र उपभोग गर्नुपर्छ ।

२.  बजारमा बिक्री वितरणका लागि राखिएको आयोडिनयुक्त नुन जथाभावी घाम पानी पर्ने खुला ठाउँमा भण्डार नगर्न व्यापारीलाई चेतना दिनुपर्छ ।

३. आयोडिनयुक्त नुनलाई घामपानी र अधिक तामक्रमले सजिलै बिगार्ने हुँदा आयोडिनको अधिकतम मात्रा बचाउन खुला ठाउँमा भण्डारण गर्न हुँदैन ।

४. खरिद गरिएको आयोडिनयुक्त नुनलाई घरमा चुलो वरिपरि तातो ठाउँमा नराख्ने, बिर्को राम्ररी बन्द गर्ने बट्टामा राखी नुन झिकेपछि तुरुन्तै बन्द गर्नुपर्छ र ओसिएको आयोडिनयुक्त नुन उपभोग गर्नु हुँदैन ।

५. सकेसम्म खाना खाने बेलामा मात्र नुन छर्केर खानु पर्छ ।

६. वर्षाको पानीले खेतबारीमा बाढी, पहिरो र भूस्खलनबाट आयोडिन बचाउन रुख–बिरुवा रोप्नु पर्छ।

७. भारतीय सिमानामा सस्तो मूल्यमा बिक्री वितरण गरिने नुनमा आयोडिनको मात्रा बिल्कुलै कम पाइएको हुनाले त्यस्तो आयोडिनरहित नुनको आयात र प्रयोगलाई रोक्नु पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने