२०८३ बैशाख ८, मङ्लबार
 

जाडोयाम र स्वास्थ्य समस्याहरु

जाडोमा न्यानो बनाउने कोशीसमा धनगढीका स्थानीय ।
prabhu bank home loan

काठमाडौं,

मंसिर महिना सुरु भएसँगै हाम्रो वरपरको तापक्रम घटिरहेको छ । जाडोयाम लागेसँगै जाडोसँग सम्बन्धित विभिन्न रोगहरु पनि देखिन सुरु भैसकेको छ । जाडोयाममा विशेषगरी जेष्ठ नागरिक र बालबालिका बढी प्रभावित हुन्छन् । बालबालिकामा पनि नवजात शिशुहरूमा धेरै समस्या देखिने सम्भावना रहन्छ ।

जाडोयाममा देखिने स्वास्थ्य समस्याहरु

क) श्वासप्रश्वास सम्बन्धी समस्याः

विशेषगरी यो समस्या ६५ वर्षमाथिको उमेर सामूहमा देखिन्छ । श्वासप्रश्वासको समस्या भएका वृद्धवृद्धाका लागि जाडोयाम निकै कष्टकर समय हो । चिसोका कारण थोरै मात्र काम गर्दा पनि दम बढ्छ भने यसले अन्य धेरै समस्या निम्त्याउँछन् । धेरै दम बढेमा त्यसले मुटुमा असर गर्छ र मुटुको समस्या पनि थपिन सक्छ । त्यसैले जाडो याममा जेष्ठनागरिकलाई चिसोबाट जोगाउनु नै उत्तम हुन्छ ।

ख) रुघाखोकीः

जाडो यामको अर्को मुख्य समस्या भनेको रुघाखोकी हो । रुघाखोकी लाग्नुको मुख्य कारण भाइरल संक्रमण नैं हो । भाइरल संक्रमणबाट बच्ने उपाय भनेको रुघाखोकी लागेको मानिससँग दुरी कायम गर्ने र उनीहरूले प्रयोग गरेको सामान सकेसम्म प्रयोग नगर्नु नैं हो । शरीरलाई न्यानो राख्न सक्यो भने पनि भाइरल संक्रमणबाट बच्न सकिन्छ । त्यसैले समय समयमा तातो तरल पदार्थको सेवन निकै हितकर हुन्छ । जाडोयाममा पानी थोरै मात्र पिउने बानी धेरैमा हुन्छ, जुन अस्वस्थकर मानिन्छ ।

ग) निमोनियाः

निमोनिया धेरैजसो दुई वर्ष भन्दा कम उमेरका बालबालिका र जेष्ठ नागरिकमा देखिने रोग हो । यो छातीमा हुने संक्रमण हो । यो रोग पनि भाइरस, ब्याक्टेरिया, फंगसकै संक्रमणका कारण हुन्छ । यो अन्य मौसममा पनि देखा पर्न सक्छ । तर, जाडोयाममा भने यसले अझ बढी सताउँछ किनभने यो श्वासप्रश्वास, रुघाखोकी सबैलाई साथै लिएर आउँछ र उपचारलाई झन् जटिल बनाइ दिन्छ ।

घ) हाइपोथर्मियाः

जाडोयाममा बाहिरको मौसमलाई बेवास्ता गरेर मनलागि गरे हाइपोथर्मिया हुने सम्भावना धेरै रहन्छ । हाइपोथर्मिया आफैँमा रोग भने होइन । तर, यसले विभिन्न प्रकारको स्वस्थ्य समस्या भने निम्त्याउन सक्छ । हाइपोथर्मिया भनेको आफ्नो शरीरले उत्पादन गर्न सक्ने तापभन्दा छिटो त्यो ताप शरीरबाट बाहिरिनु हो । धेरै चिसो ठाउँमा पातलो लुगा लगाएर काम गर्दा वा चिसोको सम्पर्कमा धेरै समय रहँदा यो आपतकालीन समस्या उत्पन्न हुन सक्छ । यदि यसको समयमा नैं उपचार वा रोकथाम गरिएन भने ज्यानै जाने खतरासम्म रहन्छ ।

ङ) फ्रस्टबाइटः

यो समस्या विशेषगरी हिउँ पर्ने ठाउँमा देखिन्छ । शरीरको कुनै पनि अंग धेरै लामो समयसम्म हिँउ वा चिसो पानीको सम्पर्कमा रहिरहे यो समस्या हुन सक्छ । त्यसैले शरिरलाई हिउँ वा चिसो वस्तुबाट जोगाउँनु नैं राम्रो हुन्छ । यदि धेरै नै नराम्रोसँग फ्रस्टबाइट भएमा उक्त ठाउँलाई चिरेर नै फाल्नुपर्ने अवस्था पनि आउन सक्छ । यो खासगरी हिमाली क्षेत्रमा बस्ने मानिसको हात–गोडामा देखिन्छ ।

च) कार्बन मोनोअक्साइड पोइजनिङः

यो जाडोयाममा मानिसको लापरवाहीले गर्दा देखिने समस्या हो । चिसोको कारण झ्यालढोका सबै बन्द पारेर आगो ताप्ने चलन छ । तर, कतैबाट हावा नै नछिर्ने गरि बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बन डाइअक्साइड वा कार्बन मोनोअक्साइडको मात्रा बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्छ वा मृत्यु पनि हुन सक्छ । जाडो याममा ग्याँस गिजरका कारण मृत्यु हुने घटना पनि यसैले गर्दा हो । त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र गर्नु राम्रो हुन्छ ।

छ) हृदयाघात र फोक्सोको संक्रमणः

चिकित्सकका अनुसार चिसोका कारण रगत जम्ने समस्या बढ्छ । यो मौसममा उच्च कोलेस्टोरल, उच्चरक्तचाप बढ्ने हुन्छ । सामान्य रक्तचाप भएकामा पनि यो मौसममा रक्तचाप तलमाथि भइरहेको हुन्छ । केही छैन भनेर बस्नुभन्दा रक्तचाप नियमित जाँच्न पनि चिकित्सकहरुको सुझाव छ ।

जाडो महिनामा फोक्सोको संक्रमण पनि बढ्छ । वायुमण्डलमा चिसो हुनाले बढी दिनसम्म किटाणु बच्ने हुँदा दमका रोग र श्वासप्रश्वासको समस्या निको हुन गाह्रो हुन्छ । वृद्धवृद्धामा प्राकृतिक रुपमै जाडो सहने क्षमता कमजोर हुनाले पनि चिसोसम्बन्धी रोग बढ्छ । जेष्ठ नागरिक, उच्च रक्तचाप भएका र कोलेस्टोरल भएकाहरुलाई बिहान चिसोमा नहिँड्न र हिँडे पनि चिसोबाट बच्ने उपायहरुको प्रयोग गरेर मात्रै हिँड्न चिकित्सकहरुको सुझाव छ ।

चिकित्सकले यस्तो अवस्थामा रोगप्रतिरोध क्षमतासमेत घट्ने बताएका छन् । चिसोबाट बालबालिका, अशक्त, दीर्घरोगी, दमका बिरामी, गरिब र सडकमा बस्ने बढी जोखिममा हुन्छन् । चिकित्सकले चिसोबाट बच्नका लागि न्यानो ठाउँमा बस्ने, तातो तरल पदार्थ प्रशस्त पिउनेजस्ता सावधानी अपनाउन सुझाव दिएका छन् ।

जाडोमा स्वस्थ रहन के गर्ने <

१) जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्दा नै फाइदा हुन्छ । हिँडडुल गर्नै पर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ ।

२) बन्द कोठाभित्र नभई राम्रोसँग हावा आवतजावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने ।

३) तातो पानी तथा तातो तरल पदार्थहरु सकेसम्म धेरै पिउने । चिसो कुराको सेवन नगर्ने ।

४) भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्ने ।

५) मौसमी फलफुल विशेष गरेर भिटामिन सि युक्त फलफुलको सेवन धेरै गर्ने ।

६) श्वासप्रश्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अपउने र समय–समयमा चिकित्सकसँग परामर्श गरिरहने ।

७) बालबालिकालाई खुट्टादेखि टाउकोसम्म ढाक्ने न्यानो कपडा लगाइदिने । धेरै बाक्लो लुगा लगाइदिएर गुम्साउनु भने हुँदैन । भित्रभित्रै तातो भएर पसिना आउँछ र त्यसैको चिसोले अन्य समस्या नित्याउँछ ।

८) जाडो मौसममा तुवाँलो लागेको बेला माक्सको प्रयोग गर्नाले पनि धेरै प्रकारका श्वासप्रश्वासका समस्याबाट जोगिन सकिन्छ ।

९) हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाहरूले मोस्चराइजर क्रिमको प्रयोग गर्ने ।

१०) कोरोना महामारीको जोखिम जाडोमा झन् बढ्न सक्ने भएकोले सचेत रहने र सुरक्षित व्यवहारहरु अपनाउने । नेपाल सरकारले तोकेका सबै सुरक्षा मापदण्डहरुको कडाइका साथ पालना गर्ने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने