

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५४.५८ अंकले बढेर दुई हजार एक सय ९५.१० बिन्दुमा पुगेको छ। त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ९.७२ अंकले बढेर चार सय १९.२० बिन्दुमा पुगेको छ।
यतिवेला नेप्सेले सूचक २१ सयको मनौवैज्ञानिक विन्दुको परीक्षण गरिरहेको छ। यस दिन नेप्सले २२ सय बिन्दुको नजिक पुग्ने प्रयास गरे पनि लगानीकर्ताहरूले नाफा बुक राख्नमा हाबी भइरहँदा बजार पुनः २१ सयकै बिन्दुमा टिकेको हो।
आज कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये फाइनान्स समूहको सूचक एक प्रतिशतभन्दा बढीले घट्दा बाँकी १२ समूहको सूचक बढेको छ। लगानीगत समूह, निर्जीवन बिमा र जीवन बिमा समूहको सूचक चार प्रतिशतभन्दा बढीले बढेको छ भने ‘अन्य’ समूह र ट्रेडिङ समूहको सूचक तीन प्रतिशतभन्दा बढीले बढ्दा अन्य समूहको सूचक सामान्यदेखि दुई प्रतिशतले बढेका छन्।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २० कम्पनीको एक करोड १३ लाखभन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएको छ।
यस दिन शिवम् सिमेन्टको सर्वाधिक २१ करोड ३४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने नेपाल दूरसञ्चार कम्पनीको १५ करोड २३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै एसियन लाइफ इन्स्योरेन्स ११ करोड रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावर कम्पनीको नाै करोड रुपैयाँदेखि १० करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

