

चितवन – भरतपुर महानगरपालिका -२५ अमृतनगरका सुमन सुवेदीले कुरिलो खेतीबाट वार्षिक २० लाख आम्दानी गर्ने गरेको छन् भने दैनिक ३० जनालाई रोजगारी दिँदै आएका छन्।
एस पारा प्रालिका सञ्चालक सुवेदीले विगत छ वर्षदेखि कुरिलो उत्पादन गर्दै आएका छन्। उनले दुई बिगाह क्षेत्रफलमा कुरिलो व्यवसाय गर्दै आएको र थप क्षेत्रफल बढाउने तयारीमा रहेको जानकारी दिए । वार्षिक १५ हजार किलो कुरिलो बिक्री गरि २० लाख आम्दानी हुने गरेको उनले बताए।
कुरिलोको मुख्य उत्पादन हुने समयमा बजार मूल्य नपाउँदा समस्या हुने बताए ।
कुरिलो खेतीसँगै उनले १८ बिगाह क्षेत्रफलमा व्यावसायिक तरकारी खेती पनि गर्दै आएका छन् । सो जग्गामध्ये दुई बिगाह आफ्नो हो भने अन्य जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गरेका हुन् ।
कुरिलो र तरकारीलाई व्यावसायिकरुपमा खेती गर्दै गर्दा अहिलेसम्म राज्यका कुनै निकायको यसतर्फ ध्यान जान नसकेको उनले बताए । राज्यले शक्तिको आडका आधारमा अनुदान दिने गरेकाले वास्तविक किसानले अहिलेसम्म अनुदान पाउन नसकेको उनले बताए ।

