

म्याग्दी,
इराकबाट फर्केर बोयर जातिको बाख्रापालन गर्दै आएका २९ वर्षे म्याग्दीका कृष्ण मल्ल भन्छन्, ‘किसान हुनुमै गर्व छ’ । उनको गोठमा बोयर प्रजातिका बाख्राको बथान छ । बिहानैदेखि झम्के साँझसम्म तिनकै सेवामा खटिन्छन् उनी । नखटियुन् पनि किन, ७ महिनाको एउटा पाठा वा पाठी बेच्दा दुई लाख रुपैयाँ आउँछ ।
यसरी बाख्रपालनमा रम्दैछन् म्याग्देली युवा–कृष्ण मल्ल । म्याग्दीको सदरमुकाम बेनीबजारबाट ४ कि.मि. दूरीमा ‘कृष्ण बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म’ खोलेका छन् । बेनी नगरपालिका–६ चुत्रेनीमा फार्म खोलेर उनले बोयर जातिका बाख्रा पाल्दै आएका हुन् । बोयर जातिका बाख्रा छिटोछिटो बढ्छन् । यसको तौले डेढ सय किलोसम्म हुन्छ। त्यसैले पाठी र बोका उत्पादन गरेर किसानलाई बेच्छन् । ‘६–७ महिनाका बोका या पाठीलाई दुई लाख रूपैयाँमा बेच्छु’, उनले सेतोपाटीसँग भने, ‘धेरै बेचिसकें । अहिले खोरमा २५ वटा बाख्रा छन् ।’
दश रोपनी जमिनमा खोर र बहुवर्षे डाले घाँस लगाएका छन् । त्यस्तै २० रोपनीमा हिउँदे र वर्षे घाँस लगाउँछन् । बाख्रा, गोठ निर्माण र घाँस खेतीमा करिब ५० लाख रुपैयाँ खर्च भैसकेको छ । ऋण लिएर काम गरेका । तीन वर्ष भयो उनले बाख्रा पाल्न थालेको । त्यसअघि उनी पैसा कमाउन परदेश गएका थिए । १९ वर्षकै उमेरमा साउदी अरब पुगेका कृष्णले त्यहाँ २२ महिना काम गरे । अनि नेपाल फर्केर इराक गए। इराकमा ४ वर्ष हाउसकिपिङमा विताए ।
‘इराकबाट नेपाल फर्कनुअघि नै हाउसकिपिङ सुपरभाइजर भैसकेको थिएँ । महिनाको एक लाख रुपैयाँ कमाई हुन्थ्यो’, २९ वर्षे मल्लले सुनाए, ‘त्यतिबेला अष्ट्रेलिया जाने प्रयास गर्दा दलालले ३५ लाख रुपैयाँ माग्यो ।’ उनको मनले भन्यो, ‘दलाललाई त्यति धेरै रकम खुवाएर अष्ट्रेलिया जानुभन्दा स्वदेशमै केही गर्न पाए हुन्थ्यो’ अनि आफ्ना पिताजीलाई सम्झे जो पहिलेदेखि नै बाख्रापालन गर्दै आएका थिए ।
‘बुबाले लोकल बाख्रा पाल्नु भएको थियो’, मल्लले यतै बस्ने निर्णय गरे, ‘व्यावसायिक बाख्रापालन गरेर बस्छु ।’ उनले सिन्धुलीगढी पुगेर अष्ट्रेलियाबाट आयातित बोयरका बोका र पाठी किनेर गाउँ ल्याए। वर्ष दिनको बोकालाई ३ लाख र ९ महिनाको पाठीलाई अढाई लाख रुपैयाँ तिरेका थिए । त्यही एक जोडीबाट उनले उत्पादन बढाउँदै गए । बिस्तारै ग्राहकबाट अफ्रिकी प्रजातिको बोयरको माग हुन थाल्यो । उनले चितवनको जगतपुर एग्रोबाट अफ्रिकी बोयर ल्याएर ब्रिडिङ गर्न थाले। बोका र पाठीको माग बढेको छ । त्यसैले उनी ठूलो आधुनिक खोर बनाउँदैछन् । ‘बजारको दुःख छैन’, उनी ढुक्क छन्, ‘अब अफ्रिकी बाख्रा थप्दै जान्छु ।’
बाख्रापालनमा उनलाई परिवारले साथ दिएको छ । उनी बिहानै उठेर खोर बढार्छन् । बाख्रालाई दाना र घाँस दिन्छन् । ती स्वस्थ छन् कि छैनन् भनेर रेखदेख गर्छन् । खाना खाएर घाँस काट्ने, झार उखेल्ने काम गर्दागर्दै दिन वित्छ । विदेशमा रगत–पसिना बगाउनुभन्दा स्वदेशमै नङग्रा खियाउँदा आत्मसन्तुष्टि मिल्छ । ‘उता विदेशमा अरूको अण्डरमा काम गर्नुपथ्र्यो’, उनी खुसी छन्, ‘यता परिवारसँगै बसेर आफ्नै सोचअनुसार काम गर्न पाएको छु ।’
तीन वर्षमै नमुना किसान बने कृष्ण मल्ल । यतिबेला उनी नेपाल व्यावसायिक बाख्रपालक महासंघ, म्याग्दीको अध्यक्षको भूमिकामा पनि छन् । कृषकको माग तथा गुनासो सरोकारवाला समक्ष पुर्याउने र उनीहरूलाई आवश्यक सहयोग गर्ने महासंघको दायित्व हो । ‘हामी बाख्रापालकको पक्षमा काम गर्दै आएका छौं’, कृष्णले भने, ‘युवालाई स्वदेशमै खेतीपाती र पशुपालन गर्न हामी झक्झक्याउँछौं ।’ विद्यालय जीवनमा उनले ‘सेना’ बन्ने सपना देखेका थिए। समयक्रममा आमा बिरामी भइन् । उनको उपचारका लागि पैसा चाहियो ।
त्यसैले उनी साउदी उडेका थिए उपचारका लागि कमाउन । उनको उपचार भयो, अहिले उनी स्वस्थ छिन् । अचेल छोरालाई सघाउँछिन् । उदाहरणीय युवा कृष्णको मेहेनतको सबैले तारिफ गर्छन् । यसैक्रममा म्याग्दीका युवा उद्यमी एवं पर्यटन अभियन्ता राजेश शाक्य भन्छन्, ‘बाख्रापालक कृष्णले स्वदेशमै सून फलाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । उनी प्रेरणादायी युवा हुन् ।’

तस्वीर तथा जानकारीः कृष्ण मल्ल, म्याग्दी र कृषि प्रेस ।

