

काठमाडौं,
प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महाधिवेशन लगत्तै आमनिर्वाचन भएकाले त्यसलाई प्रभाव पार्ने गरी अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने बताउनु भएको छ । पार्टीको १४ औं महाधिवेशनमा सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नु राम्रो भएको र सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने उहाँको तर्क थियो ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशहरण महतले लेखेको पुस्तक बिहीबार काठमाडौंमा विमोचन गर्दै प्रधानमन्त्री देउवाले प्रतिस्पर्धामा हुने जित हारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न आह्वान पनि गर्नु भएको छ । ‘सकभर सहमतिबाटै नेतृत्व टुंगो लगाऔं । तर त्यसो भएन भने अस्वस्थ प्रतिस्पर्धा र कटुता नहोस्, म सबैलाई आग्रह गर्दछु,’ उहाँले भन्नुभयो, ‘महाधिवेशन लगत्तै आमचुनाव छ, पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्नेछ ।’
महाधिवेशनमा भाग लिन उत्साहपूर्वक काठमाडौं आएका नेता कार्यकर्ताहरू उस्तै उत्साह बोकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने कार्यमा लाग्न सभापति देउवाले आह्वान पनि गर्नुभयो । ‘सबैतिर उत्साह छाएको छ, उत्साहसहित काठमाडौं आउनुभएको छ, अब सबै उत्साहका साथ गाउँ घर फर्केर पार्टीलाई चुनाव जिताउन लाग्न अनुरोध छ’ देउवाले भन्नुभयो ।
उक्त पुस्तक डा. महतले त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दा लेखेको शोधपत्रको संशोधित रुप हो । डा. महतले वीपी कोइरालाको पालामा नेपाली कांग्रेसको आर्थिक नीति नैं अहिलेको आधुनिक नेपालको आर्थिक नीति भएको बताउनुभयो । नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिबारे यस पुस्तकबाट जानकारी लिन सकिने बताउँदै उहाँले अंग्रेजी भाषामा रहेको पुस्तकलाई नेपालीमा पनि प्रकाशित गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

