

लगानी धेरै नचाहिने तथा कम झन्झटिलो हुँनाले गड्यौलापालन बाट आफ्नो आर्थिक स्तर सजिलै उकास्न सकिन्छ। गड्यौलाबाट गड्यौले प्राङ्गारिक मल बनाएर प्रशस्त आम्दानी भित्र्याउन सकिन्छ भने माछा तथा कुखुराको आहारको रुपमा पनि गड्यौला सोझै बिक्री गर्न सकिन्छ। गड्यौलामा प्रोटिन को मात्रा ज्यादा हुने हुँदा यसले छिटो वृद्धि गराउछ तसर्थ माछा तथा कुखुरापालन मा उपयोगी हुन्छ।
यसर्थ चंखेली खबरकर्मीले झापा, चितवन तथा देशका विभिन्न स्थानमा गरेको गड्यौला पालन फर्म अनुगमन तथा अनुसन्धान पश्चात् तयार पारेको विशेष रिपोर्ट यहाँहरूमाझ प्रस्तुत गरिएको छ।
के हो गड्यौले मल?(परिचय)
गड्यौले मल भनेको प्राङ्गारिक फोहरलाई गड्यौला ले खाएर, पचाएर दिसाको रुपमा फाल्ने कालो स-साना चियापत्तीको दाना जस्तो माटो र यो संगै सडेर बनेको कम्पोष्ट मलको समिश्रण हो । यसरी गड्यौला लाई फोहर खुवाएर मल बनाउने प्रविधिलाई गड्यौले कम्पोस्टिंग भनिन्छ । यसरी गड्यौला पालेर मल उत्पादन गर्ने कामलाई भर्मिकल्चर भनिन्छ । गड्यौले मल बनाउनको लागि सबैभन्दा बढी प्रयोग हुने प्रजाति Eisenia foetida हो । यो प्रजातिको गँड्यौला अरु प्रजातिको गड्यौलाहरु भन्दा छिटो खाना खाने, पाचन छिटो गर्ने क्षमता भएको र छिटो मल उत्पादन गर्ने भएकोले भर्मिकल्चर मा यश जातिको बढी प्रयोग भएको देखिन्छ । यो प्रजातिको गँड्यौला हेर्दा पनि अरुभन्दा अलि रातो रङको र लाटो स्वभावको हुन्छ । गड्यौलाले आफुले खाएको खानाको ८० देखि ९० प्रतिशतसम्म खाना फोहोर मार्फत निष्कासन गर्ने भएकाले एकदमै मलिलो हुने गर्दछ । यो मलमा २ देखि ३ प्रतिशतसम्म नाइट्रोजनको मात्रा हुन्छ भने एकदेखि दुई प्रतिशतसम्म पोटासियमको मात्रा हुन्छ।
गड्यौला पाल्ने तरिका:~
उचित स्थानको छनोट हुनुपर्छ:
गड्यौले मल उत्पादन गर्न सबैभन्दा पहिले उपयुक्त स्थान छनोट गर्नुहोस् । गड्यौलालाई घरभित्र वा खुल्ला ठाउँ दुवैमा पाल्न सकिन्छ । घरभित्र गड्यौला पाल्दा कुनैपनि भाँडा जस्तै काठको बाकस ,बाँसको टोकरी, डालोआदिमा प्रयोग गर्न सकिन्छ भने घर बाहिर खुल्ला ठाउँमा पाल्दा छाँया भएको ठाउँ वा छानाको व्यवस्था भएको ठाउँको प्रयोग गर्न सकिन्छ।
गड्यौलालाई बिस्ताराको व्यवस्था हुनुपर्छ:
गड्यौला पाल्ने भाँडामा ओच्छ्यानको व्यवस्था हुनुपर्दछ। ओच्छ्यानको लागि ३/४ ईन्च जति बाक्लो जुट, पराल ,सुतिको कपडा, काठको धूलो जस्ता वस्तुको प्रयोग गरी नरम ओछ्यान लगाई दिनु पर्दछ।
गोबर वा पुरानो मलको प्रयोग गर्नुपर्छ:
केही मात्रामा गोबर अथवा पुरानो मल राखिदिनुपर्दछ। गोबर गड्यौला को आहारा हो भने पुरानो मलमा भएको सुष्म जीवाणुले फोहोरलाई छिटो कुहाउन सहयोग गर्दछ।
जैविक फोहरको प्रयोग गर्नुपर्छ:
यसरी बनाएको ओच्छ्यान वा सोत्तर माथि एक हात उचाइसम्म जैविक फोहर हाल्नु पर्दछ। एक हात उचाई भन्दा बढी फोहोर हाल्नु हुँदैन । बढी फोहर हाल्दा फोहर कुहिने तापक्रम बढ्न गई गड्यौला उक्त फोहरमा जान सक्दैन र मल बन्न पनि ढिलो हुन्छ।
भर्मिकल्चर मा Eisenia foetida को प्रयोग:
10 फिट लम्बाइ र एक हात उचाई भएको भर्मिकमपोष्ट को बेडमा औसत ४००-५०० केजी फोहर हुन्छ उक्त फोहरलाई करिब पाँच किलो गडेउला चाहिन्छ । थोरै गड्यौला भयो भने मल बन्न धेरै समय लाग्छ र धेरै हुँदा पनि विशेष केही फाइदा हुँदैन।
गड्यौलालाई प्रकाश नछिर्नेगरी छोप्नुपर्छ:
गड्यौला अध्यारोमा मात्र बस्ने हुँदा प्रकाश छिरेमा वा उज्यालो भएमा बाहिर आउन सक्दैन। तसर्थ भर्मिकल्चर गरेको भाँडा छोपीदिनाले गड्यौला त्यही फोहरमा रहेर लगातार खाना पाउँछ र माथि आएर मल उत्पादन गर्दछ। सामान्यतया यसरी गड्यौला पालेको ७० दिनपछि यसको मल संकलन गर्न सकिन्छ।
गड्यौला पाल्दा ध्यान दिनुपर्ने मुख्य कुराहरु:
१)रातो कमिला गड्यौलाको शत्रु हो तसर्थ सकेसम्म गुलियो खानेकुरा राख्नुहुँदैन।
२)यसमा तेलजन्य खानेकुरा प्रयोग गर्नुहुँदैन।
३)अमिलो प्रजातिको फलहरु राख्नु हुँदैन।
४)मुसा, छेपारो, कमिला का साथै पाल्तु जनावर बाट गड्यौलालाई नोक्सान गर्ने हुँदा त्यसबाट बचाउनुपर्छ।
५)मासु/माछाजन्य खानेकुरा वा तिनबाट निस्केको फोहोर प्रयोग गर्नुहुँदैन।
६) फोहर हाल्दा सकेसम्म टुक्र्याएर वा काटेर प्रयोग गर्नुपर्दछ।
७) गड्यौलाहरु धेरै सुख्खा वा धेरै चिस्यान भएको ठाउँमा बस्न नसक्ने भएकोले सकेसम्म ओसिलो हुने गरी फोहर राख्नुपर्छ।
गड्यौले मलको उपयोगिता:
गड्यौले मल को कुनैपनी वेफाइदा छैन,हरेक किसिमले हरेक स्थानमा प्रयोग गर्न सकिन्छ यद्यपि विशेष गरि फूलजन्य तथा फलजन्य ससाना बोटबिरुवा मा यसको प्रयोग निकै उपयोगी देखिएको छ। पछिल्लो समय चिया उत्पादन को लागि पनि कतिपय बगानहरुमा यो मलको प्रयोग गरि उत्पादनमा वृद्धि गरेको पाइन्छ।
हाम्रो निष्कर्ष:
गड्यौलापालन गर्नको लागि कुनै ठूलो आर्थिक श्रोत जुटाइरहनु पर्दैन,सानो लगानी मै सानो हिसाबले शुरूवात गरि यसलाइ बढाउदै तथा परिस्कृत गर्दै आम्दानी लिदै अगाडि बढ्न सकिन्छ। पछिल्ला दिनहरुमा यसको महत्व बढ्दै गएको तथा बिक्रीको लागि यसको बजार क्षेत्र पनि फराकिलो हुँदै गएको छ। हाम्रो जस्तो कृषीप्रधान देशमा यी र यस्ता फाइदाजनक ब्यबसाय को लागि कृषक वर्गले चासो देखाउने तथा सरकारले पनि यश अन्तर्गतका विभिन्न कार्यक्रम ल्याई जनताहरूलाई प्रोत्साहन गर्न सके आर्थिक स्तर अभिवृद्धि गर्नमा कोसेढुंगा सावित हुनेछ।
**
✍️चंखेली खबरका लागी:रमेश न्यौपाने राधाकृष्ण

