

दार्चुलाका जयसिंह धामी महाकाली नदीमा वेपत्ता प्रकरणबारे छानविन गर्न बनेको समितिले अस्पष्ट खालको प्रतिबेदन
सरकारलाई बुझाएको छ ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजक रहेको छानविन समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई अस्पष्ट प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षाबल (एसएसबी)का अधिकारीले धामी चढेको तुइन काटे नकाटेको बारे केही उल्लेख गरेको छैन । यद्यपि, छानविन समितिले तुइन सहित धामी महाकाली नदीमा बग्दा एसएसबीका अधिकारीहरु घटनास्थलमै रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
तुइन आफैँ चुडिएको हो वा एसएसबीका सुरक्षाकर्मीले काटिदिएका हुन भन्ने विषयमा प्रतिवेदनले केही खुलाएको छैन । गृह मन्त्रालयले विज्ञप्ति मार्फत प्रतिवेदनका मुलभूत विषय सार्वजनिक गरेको हो ।
समितिले घटनास्थलमा एसएसबीका सुरक्षाकर्मी रहेकाले उनीहरुमाथि कुटनीतिक माध्यमबाट छानविन गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । प्रतिवेदनमा भनिएको छ, ‘एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा धामी सवार तुइन चुँडिएकाले नीजहरुको संलग्नताको सम्बन्धमा अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरिएको छ ।’
प्रतिवेदनमा कुटनीतिक माध्यमबाट पहल गरी एसएसबीका सुरक्षाकर्मीमाथि छानविन गर्न र धामीका परिवारलाई उचित क्षतिपूर्ति एवं राहत उपलब्ध गराउन भारतीय पक्षसँग नेपाल सरकारले पहल गर्नुपर्ने सिफारिस गरेको छ ।
छानविन समितिले आफू र सरकारलाई विवादबाट मुक्त हुने हिसावले जोगिएर प्रतिवेदन तयार पारेको भन्दै विज्ञहरुले आलोचना समेत गरेका छन् ।
साउन १५ गते दार्चुलाको मालघाटबाट तुइनको प्रयोग गरी भारतको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन सहित धामी वेपत्ता भएका थिए । भारतीय एसएसबीका सुरक्षाकर्मीले धामी सवार तुइन काटेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै समाचार प्रकाशित भएपछि गृह मन्त्रालयले ५ सदस्यीय छानविन समिति गठन गरेको थियो।

