

काठमाडौं,
सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आगामी साउन २५ देखि २७ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र सहभागिता रहेको केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।
विधान अधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन, विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र रामबहादुर थापा बादलले व्यवस्थापन प्रतिवेदन लेख्ने निर्णय भएको छ । असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको छ ।
बैठकमा महासचिव ईश्वर पोखरेलले निर्वाचनको मितिसँग जुध्न गएमा दशौं महाधिवेशन भने आगामी वैशाख मसान्तसम्म गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । यसअघि दशौं राष्ट्रिय महाधिवेशन मसिर २ देखि ६ सम्म गर्ने निर्णय भएको थियो । शनिबार बालुवाटारमा बसेको बैठकमा पार्टीका महासचिव ईश्वर पोखरेलले सांगठनिक योजना पेश गर्नु भएको थियो । दुई दिनसम्म बसेको बैठकमा नेपाल र झलनाथ पक्षले भने बैठक अस्वीकार गरेको थियो ।
यस्ता छन् बैठकले पारित गरेका पाँच बुँदे संगठनात्मक योजना
१) असार मसान्तभित्र पार्टीको सदस्यता नविकरण गरिसक्नुपर्ने । साउन ५ गतेभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइ सक्नुपर्ने ।
२) आगामी साउन २५ देखि २७ पार्टीको विधान अधिवेशन काठमाडौंमा गर्ने । त्यसका निम्ति पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र बादलको संयोजकत्वमा व्यवस्थापन समिति गर्ने ।
३) पार्टीका तल्लो तहका कमिटीहरूको अधिवेशन आगामी भदौ ५ गते वडास्तर र १५ गते पालिका स्तरका अधिवेशन गर्ने प्रस्ताव प्रस्तुत ।
४) पार्टीका केन्द्रीय तहका ३२ विभागमा रहने सदस्यको नाम प्रस्ताव गरे पनि अहिलेसम्म सिफारिस नआएकोले अविलम्ब पठाउन अनुरोध ।
५) अब सिंगो मुलुक निर्वाचनमा जुट्नुपर्ने भएकोले त्यसका लागि जुट्न नेता कार्यकर्तालाई अनुरोध ।

