

काठमाडौं,
सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग समसामयिक विषयमा छलफल गर्नु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा भएको छलफलको सुरुवातमा धारणा राख्दै सभामुख सापकोटाले जनताको सर्वोच्च जनप्रतिनिधि संस्थाको अधिकार पटक पटक हनन् भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
जनप्रतिनिधि संस्थाको अवमुल्यन किमार्थ स्वीकार्य नहुने बताउनु भयो । राज्यका तीन अंगबीचको सन्तुलन नराम्रोसँग बिग्रिएको बताउँदै उहाँले राजनीति र प्रशासनिक सन्तुलन पनि बिग्रिएको बताउनु भयो । बेलायतको संसदमा नेपालको कोभिड संकटका बारेमा छलफल भएको तर प्रतिनिधि सभामा यो छलफल हुन नपाएको भन्दै सभामुख सापकोटाले देशमा कानुनको सर्बोच्चता नमान्ने अवस्थाको सृजना हुनु दुखद भएको बताउनुभयो ।
हाल देशमा बहुआयामीक संकट आइपरेको बताउँदै सभामुख सापकोटाले यस्तो बेला जनतालाई राज्यका तीन अंगले कसरी काम गरिरहेको छ भनेर जानकारी दिनुपर्ने धारणा राख्नु भयो । उहाँले संघीय संसदको नेतृत्वको हिसाबले संविधानको परिधिभित्र रहेर खेल्ने भूमिका के हुन सक्छ, भन्दै खुलेर सुझाव सल्लाह दिन सम्पादकहरुसँग आग्रह गर्नुभयो । सभामुख सापकोटाले आफूले राष्ट्रिय हित, संविधान र लोकतन्त्रको रक्षार्थ प्रभावकारी हस्तक्षेपका लागि बल गरिरहेको बताउनुभयो ।

संघीय संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा प्रिन्ट र इलेक्ट्रोनिक मिडिया आवद्ध (अनलाइन र टेलिभिजन) का सम्पादकहरुको सहभागिता रहेको थियो । छलफलमा कान्तिपुर दैनिकका सुधिर शर्माले केही बर्षयता राज्यका तीन अंगका बीचमा सन्तुलन बिग्रिएको चर्चा गर्दै गत फागुन ११ गते पुनर्स्थापना भएपछि संसद आफैं सक्रिय हुन नसकेको टिप्पणी गर्नु भयो । उहाँले संवैधानिक नियुक्तिका सन्दर्भमा सभामुखको धारणा बारे जिज्ञासा राख्नुभयो ।
देशसंचार डटकमका युवराज घिमिरेले वि.सं. २०१७ साल देखिको संसद विघटनको कारण विश्लेषण गर्नुपर्ने, गुमेको अधिकार सन्दर्भमा खुला बहस हुनुपर्ने र अध्यादेश, संबैधानिक नियुक्ति र राजदूत नियुक्तिका सन्दर्भमा सदनको अधिकार सन्दर्भमा कडारूपमा प्रस्तुत हुन सुझाव दिनुभयो ।
छलफलमा इकागज डटकमका हरिबहादुर थापाले पुनर्स्थापित संसदले प्रधानमन्त्रीको गलत कदमको सन्दर्भमा संकल्प प्रस्ताव ल्याउनु पर्नेमा त्यो हुन नसकेको धारणा राख्नुभयो । रातोपाटी डटकमका अरुण बरालले सभामुखले लिन सक्ने सम्भावित निर्णयका सन्दर्भमा जिज्ञासा राख्नुभयो ।
नेपाल समाचारपत्र दैनिकका कपिल काफ्लेले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार व्यबस्थापिकाले सशक्त भूमिका निभाउनुपर्ने धारणा राख्दै विघटित सांसदहरुसँग भेला र छलफल चलाउनु उपयुक्त हुने बताउनुभयो । नागरिक दैनिकका गुणराज लुइँटेलले सर्बोच्च अदालतले प्रधानमन्त्रीको पहिलोपल्ट गर्नु भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भनेको चर्चा गर्दै असंवैधानिक काम गर्दा जनता दण्डित हुनुपर्ने तर प्रधानमन्त्रीलाई किन केहि नहुने भनि प्रश्न गर्नु भयो ।
नयाँ पत्रिका दैनिकका कृष्णज्वाला देवकोटाले अहिलेको खेल झेला गरेर जित्न खोजेको नभई खेलमैदान नै भत्काउने खालको भएको टिप्पणी गर्नुभयो । अनलाइन खबरका शिव गाउँलेले संसद विघटन भए पनि संस्था जिवितै रहेकोले सभाले गर्ने भनेको बाहेक सबै कामकारबाही गर्न संविधानले सभामुखलाई छुट दिएकोले सोहि अनुसार भूमिका निभाउन सुझाव दिनुभयो । उहाँले संसद तथा प्रेस एक ठाउँमा उभिएर गलत कामको प्रतिकार गर्नुपर्ने बताउनुभयो ।
अन्नपूर्ण पोस्ट दैनिकका अखण्ड भण्डारीले दोश्रो पछी तेश्रो पनि विघटन भएमा सभामुखको तयारी के छ भनेर जिज्ञासा राख्नु भयो । राजधानी दैनिकका सागर पण्डितले सहकार्य, सहअस्तित्व र समन्वयमा साझा भूमिकामा सभामुख सहभागी हुन र सरकारले एजेन्डा नदिए पनि आफै एजेन्डा तय गरी सदन प्रभावकारी ढंगले सञ्चालन गर्न सुझाव दिनुभयो । बाह्रखरी डटकमका प्रतीक प्रधानले खोप, बाढी, नीति तथा कार्यक्रम, बजेट अध्यादेश लगायतका जनताका समस्यामा सभामुखले प्रश्न उठाउने र सरकारलाई खबरदारी गर्नुपर्ने बताउनुभयो ।
प्राइम टिभिका ऋषि धमलाले जनताले सभामुखबाट सशक्त भूमिकाको अपेक्षा गरेको, संसद पुनस्र्थापना हुँदा सभामा प्रधानमन्त्रीलाई रुलिंग गर्नुपर्ने बताउनु भयो । शिलापत्र डटकमका बसन्त बस्नेतले संसद पुनस्र्थापना भएमा विगतको पाठ सिकेर सशक्त भूमिका खेल्न र संसद प्रभावकारी बनाउन सुझाव दिनु भयो ।
अन्तमा सभामुखले विगत र हालको संसद विघटनको अवस्थामा आफुले खेलेको भूमिकाको जानकारी गराउँदै राज्यका चौथो अंगको रूपमा रहेको सञ्चार जगतको साथ र सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । सभामुख सापकोटाले यसअघि गत जेठ ११ गते पूर्व सभामुखहरूसँग, १३ गते संविधान एवं कानुनविदहरूसँग र २८ गते प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्नु भएको थियो ।

