

काठमाडौं,
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा हालैको प्राकृतिक विपतको व्यवस्थापन तथा राहतकार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । जिल्लामा हालैको बाढी पहिरोेले पुर्याएको क्षतिलाई सम्बोधन गर्ने मागसहित शुक्रबार प्रधानमन्त्री ओली समक्ष भेट गरेका नेकपा एमाले बागमती प्रदेशकमिटीको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री यस्तो निर्देशन दिनुभएको हो ।
सिन्धुपाल्चोकको विपत्ति एक मानवीय संकट भएको बताउँदै उहाँले भन्नुभयो, ‘यस कुरामा कसैले राजनीति गर्नु हुन्न मानवीय हिसाबमै जानुपर्छ’ । पुल बगाएको स्थानमा बेलिबृजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्रीले बताउनु भयो । साथै उहाँले बाढीको पुर्व सूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवाशको व्यवस्था गर्नुसमेत दिनुभयो ।
यस्ता विपत्तिमा स्थानीय आवश्यकता अनुसारको राहत उपलब्ध गराइनुपर्ने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, त्यस्ता ठाउँमा दाताहरु पुगेका छन्, उनीहरलाई त्यहाँ के चाहिएको छ भन्ने थाहा छैन । लगेर चाउचाउ बाडेपछि केटाकेटी खुसी होलान् । तर त्यहाँको आवश्यकता त्यो हो कि होइन भन्ने बुझ्नु पर्छ,’ प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गर्दै नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटिका अध्यक्ष आनन्द पोखरेलको मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन सरकारद्वारा गर्न, बहुआयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे मार्फत पूनः निर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गरिएको छ ।
यसै गरी विस्थापित ४ सय परिवारको अस्थाई बसोबासको लागि प्रतिपरिवार ८ बन्डल जस्ता उपलब्ध गराई अस्थाई बासस्थान निर्माण गर्ने, नदी किनाराका बजार संरक्षण र पुनः व्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्न र भत्केका घरहरुको पूननिर्माण र पुरिएका घरहरुलाई मर्मत सुधार गराउने व्यवस्था गर्न र बिग्रे भत्केका मोटर बाटोहरुको तत्कालै मर्मत सुधार गरी मोटर सञ्चालन गर्ने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
यसै गरी भत्केका मोटरेवल पुलमा अस्थाई (बेलीव्रिज वा कज वे निर्माण गरी) मोटर बाटो सञ्चालनमा ल्याउन र मानिस आवत जावतको लागि तत्कालै झोलुृङ्गे पुल निर्माण गर्न माग गरिएको छ । साथै ध्वस्त भएको सञ्चार र विद्युत प्रशारणको लाईनको मर्मत गरी तत्कालै विद्युत आपूर्ति सञ्चालन गर्न पनि ज्ञापनत पत्रमा माग गरिएको छ ।
ज्ञापनपत्रमा ध्वस्त सबै खानेपानीका मूहान र संरचनाहरु मर्मत सुधार गरी मुहानको संरक्षण, फिल्ट्ररेशन सहित सफा खानेपानीको व्यवस्था मेलम्ची आयोेजनाको मुहानमा भएको क्षतिको मर्मत सुधार गरी र भत्केका दुईवटा विद्यालय सञ्चालनको लागि तत्कालै सुरक्षित स्थानमा त्ीऋ निर्माण गरी पठन पाठन सुचारु गर्न माग गरिएको छ ।
साथै क्षतिग्रस्त प्रहरी चौकीको पूनःस्थापना, पानी जन्य रोग तथा अन्य सरुवा रोग रोकथाम नियन्त्रण र उपचारको लागि स्वास्थ्य शिविर सञ्चालन तथा तत्कालै खाद्यान्न र अन्य राहतको उचित प्रवन्ध गरियोस् । यसका साथै नदि किनारमा तार जाली लगाई पुरानै मार्गमा फर्काउने व्यवस्था, जनतालाई जोगाउन सुरक्षित स्थानमा स्थानान्तरण, नदि किनारमा सञ्चालन भएका कृषि बाली, पशु चौपाय, कृषि फर्म होटल, रिसोर्ट, पसल र अन्य व्यवसाय सञ्चालन गर्नेहरुको लगानी संरक्षण गर्न बैंकको व्याज मिनाहा र कर्जा पूनः संरचना गर्ने व्यवस्था गर्न र नदि किनारामा बाढीको पूर्व जानकारी दिने साईरन तत्काल जडान गनै पनि माग गरिएको छ ।
सिन्धुपाल्चोकमा असार १ गते पछि परेको अबिरल वर्षापछि उत्पन्न बाढी पहिरोका कारण १६ जनाको मृत्यु, ४ सय परिवार विस्थापित भएका छन् । सबै स्थानमा गरी ३ सय ३७ वटा घर र ६० वटा गोठ), ६ वटा मोटर पुल र १३ वटा झोलुंगे पुल बगाएको छ । यसै गरी हेलम्बु २ को किउल बगरमा रहेको प्रहरी चौकी भवन लडाएको छ भने २ वटा विद्यालय (सरस्वती मा.वि. हेलम्बु र तेर्से मावि तालामाराङ) भवन उच्च जोखिम रहेका छन् । विभिन्न स्थानमा सडक मार्ग भत्किएर बगरमा परिणत भएका छन् नदिकिनारका वस्ती पहिरोले पुरेको र लेदो थुप्रिएर पुरै यातायात बन्द भएको भएको पनि ज्ञानपत्रमा उल्लेख छ ।
यसका साथै खानेपानी प्रणाली अवरुद्ध भई खानेपानीको अभाव भएको, नदी आसपासका सिचाई कुलो पुरै बगाएको, नदी किनारका घरहरुमा हिलो, लेदो पसी बस्न नहुने भएको तथा नदी किनारका १० वटा ट्राउट माछा फर्म समेत नष्टभएको जानकारी सो अवसरमा दिइयो । बाढीपछि पनि नदीले आफ्नो वहाव परिवतर्न गरी जथाभावी बगिरहेको छ, मेलाम्ची खानेपानी आयोजनामा ठूलो क्षति भएको,
विद्युत प्रसारण लाईन अवरुद्ध भएको तथा बैंकबाट ऋणलिई विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको बैंक किस्ता भुक्तानिमा समस्या भएको पनि ज्ञापत्र पत्रमा उल्लेख छ ।


