

काठमाडौं,
लगातारको वर्षासँगै आएको पहिरो र बाढीमा परेर मुलुकभरमा ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले बुधबार साँझ जारी गरेको विज्ञप्ति अनुसार बाढी पहिरोमा परी ६ जनाको मृत्यु भएको हो । केही दिनयता बाढी पहिरोमा परेर २८ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् ।
बाढी पहिरोबाट सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, स्याङ्जा, लमजुङ, अर्घाखाँची, कास्की, जुम्ला, जाजरकोट, डोटी र बाजुरा प्रभावित भएका गृहले जनाएको छ । अहिलेसम्म सिन्धुपाल्चोकमा २, कास्की, पाल्पा, बाजुरा र डोटीमा १/१ गरेर ६ जनाको ज्यान गएको गृह मन्त्रालयले पुष्टि गरेको हो । बाजुरा, गोर्खा, प्युठान र अर्घाखाँचीमा १/१, जाजरकोटमा ७ तथा सिन्धुपाल्चोकमा १७ गरी २८ जना वेपत्ता भएको विज्ञप्तिमा उल्लेख छ ।
बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा ६, स्याङ्जामा १, डोटी र जुम्लामा २/२ गरेर ११ जना घाइते भएका छन् । सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी घाइते भएका ६ जनाको उद्धार गरी ललितपुरको बिएन्डबी अस्पतालमा उपचार भइरहेको गृहले जनाएको छ । बाढी पहिरोले ८९ घरमा पूर्ण र २६ घरमा आंशिक गरेर १ सय १५ घरमा क्षति पुगेको छ । बाढी पहिरोमा परेका सिन्धुपाल्चोकमा ४६ र दाङका ४ गरेर ५० जनाको सकुशल उद्धार गरिएको गृहले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन्न बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिनु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ताकपडा, औषधि र पानी व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिनु भएको छ ।

