

काठमाडौं,
नेकपा एमालेका नेता बामदेव गौतमले २०७५ जेठ २ गते कायम रहेको पार्टीको स्थायी कमिटीको बैठक बोलाएर विवाद समाधान गर्न मध्यमार्गी प्रस्ताव गर्नुभएको छ । गौतमले मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गते कायम रहेको दुई बरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव सहितको स्थायी कमिटी बैठक बोलाउन आग्रह पनि गर्नुभएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकताका लागि पेश गरेको ६ बुँदे प्रस्तावपछि पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठक बसेको र बैठकले ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ । गौतमले अध्यक्ष ओलीले पार्टी कमिटीलाई निशर्त रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार नभएको भन्दै एकताको इमान्दार प्रयास मान्न नसकिने पनि उल्लेख गर्नुभएको छ ।
‘त्यसैगरी जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्वीकार गर्न पनि सकिन्छ भन्ने हो, जसलाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न’ गौतमले भन्नुभएको छ ।


