

काठमाडौं,
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मानव जीवनको रक्षाका लागि आपसी सहयोग र अनुभव आदान प्रदान महत्वपूर्ण हुने बताउनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले अहिलेको पुस्ताले भोग्नुपरेका महामारी मध्येमा यो सबैभन्दा ठूलो मानवीय संकट भएकाले आपासी सहयोग र अनुभव आदान प्रदानबाट यसलाई पराजित गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले नेपालमा क्रियाशिल मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहभागी गराएर महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा चिनियाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद व्यक्त गर्नुभयो । ‘विश्वनै एक गाउँका रुपमा स्थापित एक्काइसौ शताब्दीको अन्तरनिर्भर विश्वमा कोभिड–१९ जस्तो महामारी परास्त गर्न अन्तर्राष्ट्रिय सहकार्य नै सबैभन्दा ठूलो औजार हो’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ’यस महामारी विरुद्धको लडाईमा महामहिम राष्ट्रपति सी चीनफिङको सवल नेतृत्वमा चीनले अग्रणी भूमिका निर्वाह गरिरहेको छ। महामारीको समयमा राज्येले खेल्नुपर्ने भूमिका, संक्रमण दर तिब्र भएको कोरना जस्तो भाइरसको फैलावट रोक्ने विधि ‘लकडाउन’देखि कोभिड प्रतिरोधी खोपको विकासमा चिनियाँ मोडल विश्वाव्यापी भएको छ।’
चीनले स्वयं महामारीसँग जुधिरहेको समयमा समेत नेपाल सहितका छिमेकी र अन्य मुलुकहरुलाई गरेको सहयोग स्मरणीय रहने बताउनुभयो । ‘महाभारीका समयमा अत्यावश्यक सामग्री उत्पादन र वितरण गरी चीनले आफूलाई विश्वको उदाउँदो शक्ति रुपमा स्थापित मात्रै गरेको छैन, समग्र मानवीय हित रक्षाको अगुवाको पहिचान बनाएको छ’ उहाँले अघि भन्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले नेपालमा पहिलो वेभका बेला तुलनात्मक रुपमा कम क्षति भए पनि दोस्रो वेभको संक्रमण र मृत्युदर नियन्त्रणका लागि अस्पतालको सैया, अक्सिजन, आइसीयु, भेन्टिलेटर, व्यक्तिगत स्वाथ्य सुरक्षा सामाग्री (पीपीई), जीवनवर्धक औषधी र खोपको व्यवस्थापनका लागि मित्रराष्ट्र चीनबाट भएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
‘पछिल्लो पटक चीनले उपलब्ध गराएको अक्सिजन सिलिण्डरका कारण मात्रै पनि हजारौ नेपालीको जीवन रक्षामा सहयोग पुगेको छ’ उहाँले भन्नुभयो, ‘चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसिल खोप लिएका नागरिकमा अब महामारी परास्त गर्न सकिन्छ भन्ने आत्मविश्वास देखिन्छ। अन्य लाखौ नागरिक त्यस्तै खोपको प्रतिक्षामा छन् ।’
अध्यक्ष तिमिल्सिनाले महामारीको अवस्थामा मानव जीवनको रक्षा नै सबैको पहिलो प्राथमिकता हुनुपर्ने सो क्रममा बताउनुभयो । ‘महामारीको भौगोलिक र राजनीतिक सीमा छैन । मानव सभ्यता र जीवन मृत्युका अघि भौगोलिक सीमाना, राजनीतिक व्यवस्था र आर्थिक स्थिति जस्ता विषय गौण रहेछन्’ उहाँले भन्नुभयो, ‘अन्ततोगत्वा हामी सबै मानवजाती एक रहेछौँ र एक भएर नै यस संकटबाट मुक्ति पाउन सक्छौँ ।’
कार्यक्रममा नेपालबाट एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस नेता डा. नारायण खड्कालगायत विभिन्न दलका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो । त्यसैगरी चीनको तर्फबाट विदेश विभागका मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउ लगायतको प्रतिनिधिमण्डल सहभागी हुनुभएको थियो ।

