

चौतारा,
नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाले सञ्चालन गरेको कोभिड १९ पत्रकार राहत कोषमा बुधबारसम्म १२ लाख रुपैयाँ भन्दाबढी रकम जम्मा भएको छ । एकसय ४ जनाबाट १२ लाख २० हजार २७ रुपैयाँ संकलन भएको महासंघले जनाएको छ ।
भोटेकोहीका छिरिङ शेर्पा र डडुवाका नकुल नेपालले एक एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । त्यस्तै सानोसिरुवारीका रामप्रसाद धिताल, चौताराका गम्भीरलाल श्रेष्ठ र चौतारा (हाल अमेरिका) का रामचन्द्र श्रेष्ठले जनही ५० हजार रुपैंयाँ सहयोग गर्नुभएको छ ।
त्यसपछि कुबिण्डे सिम्पानी (हाल अमेरिका) का माधव शर्माले ३१ हजार ५ सय ५६, उद्योग वाणिज्य संघका होमबहादुर बस्नेतले ३० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । सकलित रकमबाट ६० प्रतिशत रकम जिल्लाबासीको स्वास्थ्य क्षेत्रमा खर्च गरिने र जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्ने हो भने संकलित रकमको ४० प्रतिशत रकम उपलब्ध गराइने महासंघले जनाएको छ ।
पत्रकार महासंघ नागरिक समाजको एउटा अङ्ग पनि भएकोले यो महामारीमा सिन्धुपाल्चोकलाई कम्तीमा पनि अक्सिजनमा आत्मनिर्भर जिल्लाको रूपमा स्थापित गर्नको लागि तत्काल एउटा अक्सिजन प्लान्ट स्थापना सुरुवात गर्न जोड्दार माग गरेको छ । यदि सबैको साथ सहयोग र सहकार्य हुने हो भने त्यस्को नेतृत्व पत्रकार महासंघ गर्न तयार रहेको पनि महासंघले जनाएको छ ।


