२०८३ बैशाख २, बुधबार
 

आमाको यादमा दुई शब्द

prabhu bank home loan

रोहित शर्मा,

आजभन्दा ठिक ६१ वर्ष अगाडि जन्मिएकी मेरी आमाको १३ वर्षको कलिलो उमेरमा विहे भयो । अनि विहे भएको १६ वर्षसम्म बच्चा नजन्मिएपछि गाउँमा जकडिएको कुसंस्कार, कुरीती र ज्योतिषीय अन्धबिश्वासको भुमरीमा कति कष्टप्रद ज्युँनुभो त्यो सबै सुन्दा पनि आङ जिरिङ्ग हुन्थ्यो मेरो । अनि अहिले सम्झिँदा पनि चस्स हुन्छ । ६ वर्षको दुधे बालक उमेरमा विहे भएर १६ वटा सन्तान जन्माएकी मेरी हजुरआमैले, विहे भएको १६ वर्षसम्म पनि बच्चा नजन्माएकी भन्दै मेरी आमाप्रति गर्ने ब्यवहार निकै कर्कश थियो ।

‘बाँझी’ ‘अपुत्री’ ‘थारी’ जस्ता तुच्छ शब्द प्रयोग गर्दै आमैले गर्नुभएका तल्लोस्तरको गाली सुन्दा सुन्दा आमाका कान तिता भैसकेका थिए । भारी बोक्न, खेतबारी खन्न लोग्ने मान्छेहरुभन्दा कम्ता हुनुहुन्नथ्यो । घरायसी काम त संसारै भ्याउने । तैपनि दिनभरि काम गरेर बेलुका एक छाक मीठो खान पाउने दिन आएन । भान्छामा भात पाक्न चाडबाड नै आउनुपर्थ्यो, ढिंडो नै भए पनि भोकको झोकमा पेटभरी खाने दिन आएन आमालाई ।

‘त्यस्तै उस्तै बुहारी परेका भए उतिबेलै झुण्डिएर मरिसक्थे, धर्ती थीई तेरी आमा’ भन्छन् पल्लाघरे आमै अनि ठुलीआमाहरु । ‘यो आईमाईबाट सन्तान हुन लेखेको छैन, हुँदै हुँदैन, भएछ भने म यो ज्योतिषकर्म त्याग गर्छु’ चामल, धुपबत्ति, फुल, अक्षता अगाडि राखेर धुलौटो कोर्दै भन्दै गरेका रे जिल्लाभर नाम कमाएका गाँउकै नामुद ज्योतिषीले ।

‘हेर् किस्ने.. यो आइमाईबाट सन्तान हुँदैन, तँ भनेको मान्, अर्को विहे गर्’ यसै भनेका थिए आमाकै अगाडि बुवालाई ज्योतिषले । ‘विहे त म गरुँला, तर अर्कीबाट पनि छोर्छोरी हुन्छन् नै भन्ने ग्यारेन्टी छ त ? बरु जिन्दगीभर अपुत्रो बसुँला अर्की विहे गर्दिन’ बुवाले कड्किँदै भन्नुभएछ । हजारौंका भविष्यवाणी मिलाएका ती ज्योतिष बाको ज्योतिषशास्त्रमा खै कुन उपग्रहले आमाको भाग्यफल छाँया पार्‍यो, कसैले थाहा पाउन सकेनन् । २०४५ साल श्रावण शुक्लपुर्णिमाको मध्यरातको १ बजे आमाको कोखबाट पहिलो सन्तानको जन्म भयो ।

फलानीले छोरो पाई रे गाउँभरी खैलाबैला भयो, खुशी नहुने कोहि भएनन् । ज्योतिष बाको के भो होला ?
न्वारनको दिन उनी आए, टिप्पन उठाए, खल्तिमा भएको मैलो पात्रो निकाले, घोरिए, लामै हिसाब किताब गरे, अनि यत्ती भनेर गए राजयोगमा जन्मियो, धनवान् होला, प्रशिध्दी कमाउला ।

ज्योतिष बाले फेरि अर्को झुट बोले । उनको ज्योतिषशास्त्रले पहिल्यै फेल खाइसकेको थियो ।

उफ्फ… लेख्दालेख्दै कुरा अन्तै गएछ । म आमाको कुरा गर्दै थिएँ ।

समय बित्दै गयो, ४ सन्तान जन्माउनुभयो । २ छोरापछि २ छोरी । सन्तान जन्माउँदैमा आमाका दुख हराएनन् । ती सबै यहाँ लेखेर के साध्य ? जाँगर चलेछ भने उपन्यास लेखुँला । महाकाब्य बन्छ होला ।

आमाले हाम्रो पेट छाम्दा छाम्दा आफ्नो पेट छाम्न बिर्सिनुभयो, हामिलाई खुवाउँदा खुवाउँदा आफुले खान बिर्सिनुभयो । यतिसम्म कि ४ दाना ऐँसेलु भेटे पनि ढाल्ने (कटुस) को पातमा पोको पारेर घाँसको डोकोमा सिउरेर ल्याउनुहुन्थ्यो । खलखल पसिना काडेर थोत्रो चोलो निथ्रुक्क हुनेगरी आमाले जत्रो भारी बोकेर ल्याए पनि, ऐँसेलुको पोको कत्रो छ अनि डोकोको कतापटी बिटमा राख्नुभएको छ त्यसमा मात्रै मतलब थियो हामीलाई ।

हामीलाई खुवाउँदा आफुले पनि सँगै खानुभएको भए, हाम्रो गोडामा चिल्लो लगाइदिंदा आफ्नो गोडामा पनि लगाउनुभएको भए । हाम्रो पिर लिँदा आफ्नो पनि ख्याल् गर्नुभएको भए । हामिलाई चोट लाग्दा कठै, कति दुख्यो होला भन्ने आमाले आफुलाई पेटमा अल्सर भएर पीडा हुँदा पनि छोरा मलाई साह्रै दुख्यो नभनिकन पटुकाले कसेर नहिँडेको भए । सायद यति छिटै यो धर्ती छोड्नुपर्ने थिएन होला तपाइँले ।

हामी बचाउन सक्थ्यौँ होला तर सकेनौँ, ढिलो भैसकेको रहेछ सायद । दुई छुट्टाछुट्टै समस्याहरुको एकैचोटि डबल अप्रेसन गरेको रात तपाईं भित्र बेडमा छट्पटाईरहँदा म आइसियुको बाहिर चिसो पेटिमा तपाईंलाई गाह्रो नहोस् भनेर भगवानसँग प्रार्थना गरिरहेको थिएँ । तपाईं त्यत्रो चिच्याउँदासमेत राती मलाई बोलाईदिएनन् भित्रका कुरुवाहरुले ।

‘मलाई असह्य पीडा भएको छ, तपाईंहरुको कुनै औषधिले मलाई काम गरेन, म बाँच्दिन, मलाई अन्तिम पटक छोरालाई भेटाइदेउ’ भनेर रातभरी नर्सहरुलाई अनुरोध गर्नुभएको, तिनिहरुले नमानेको भएर चिच्याउनुभएको, कुरा आइसियुको पल्लो बेडमा बस्ने दिदिले भन्नुभएको म कहिल्यै बिर्सिन सक्दिनँ ।

क्रमश …

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने