२०८३ बैशाख ५, शनिबार
 

पिसिआर पोजिटिभ आए के गर्ने ?

prabhu bank home loan

डा. रवीन्द्र पाण्डे,

यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला ।

यसपटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ । तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला । संक्रमणको शंका लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला । सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला । जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ ।

पिसिआर पोजिटिभ आएमा गतसाल जस्तो सप्लिमेन्ट (भिटामिन वा इम्युन बुस्टर) खाएर ढुक्क नहुनुहोला । यसपटक छिटो कोभिड निमोनिया हुने भएकोले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला । त्यहाँ चिकित्सकले तपाई लाई परीक्षण गरेर आवश्यकता अनुसार छातीको एक्स रे, रगतको जाँच तथा सिटि स्क्यान गर्ने सल्लाह दिनुहुन्छ । यदि तपाई को अवस्था खराब छ भने उहाँहरुले औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ । उहाँहरुको सल्लाह अक्षरस पालना गर्नुहोला ।

लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला । यो अवस्थामा तपाईलाई छातीमा संक्रमण भएको बुझ्न सकिन्छ । जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुनु नपर्ने एवं सजिलोसँग निको हुने अवस्था हुन्छ । गतसाल संक्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई पनि संक्रमण हुनसक्छ । प्रजाति फरक भएकोले गाह्रो हुन सक्छ । मैले खोप लगाएको छु वा पोहोरको एन्टिबोडीले काम गर्छ भनेर लापरबाही नगर्नुहोला । अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला ।

बालबालिका तथा युवालाई केहि हुँदैन भनेर घरमा नबस्नुहोला । यसपटक बालबालिका र युवाको संक्रमण दर, गम्भीर हुने दर तथा मृत्युदर गतसालको भन्दा धेरै छ । अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नु भयो भने अक्सिजनको स्तर केहि बढ्दछ । तसर्थ पेटको बलमा घोप्टो परेर सुत्नुहोला । अस्पताल प्याक छन् भनेर नआत्तिनुहोला । अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन । प्याक भएका अस्पतालले अस्पताल बाहिर समेत अक्सिजन दिएर उपचार गरिरहेका छन् ।

चिकित्सकको सल्लाह बिना आफै अक्सिजन लगाएर घरमा नबस्नुहोला । अक्सिजन उपचार हैन, निमोनिया वा अन्य छातीको संक्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ । अक्सिजनको मात्रा चिकित्सकको सल्लाह अनुसार मात्र थपघट गर्नुपर्छ ।

औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ । एकजनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ । तसर्थ स्वास्थ्यकर्मी बाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला । कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो ।

प्रतिरोध क्षमता बढाउनको लागि जथाभावी आयुर्बेद औषधि नखानुहोला । सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारस अनुसार मात्र आयुर्बेद औषधि सेवन गर्नुहोला । आयुर्बेद औषधिले कोभिड निको हुँदैन । तपाईको स्टामिना बढाउँछ । यस्तो बेला सबै चिकित्सा पद्दतिको एकीकृत उपचार प्रभावकारी हुन्छ ।

यसपटकको संक्रमणले निकै छिटो फोक्सोमा असर गर्ने किसिमको छ । ४ – ६ घण्टामा निकै बढी असर गर्न सक्छ । तसर्थ भोलि अस्पताल जाउँला भनेर नबस्नुहोला । निको भएका संक्रमितका कुरा सुन्नुहोला । कुनैपनि चिकित्सकले औषधि चलाएको बेला पनि भित्रभित्रै असर हुनसक्छ । यो भाइरल संक्रमण भएको हुँदा एन्टिबायोटिकको भर पर्नु हुँदैन । यस्तो अवस्थामा एकपटक छातीको एक्स रे वा सिटि स्क्यान गर्नु सुरक्षित हुन्छ ।
अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ, तसर्थ नआत्तिनुहोला ।

उपचार पश्चात पिसिआर नेगेटिभ आए पनि कोभिडले तपाईका बिभिन्न अंगमा असर गरेको हुनसक्छ । चिकित्सकको सल्लाह अनुसार यसको पनि उपचार गरेर स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ । सरकारले जारी गरेका सूचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालनाबाट हामी संक्रमणबाट बच्नेछौँ । कृपया पटक्कै लापरबाही नगर्नुहोला । हामीले आफू, परिवार तथा समाजलाई संक्रमण हुन नदिनको लागि सतर्क बनौँ । सतर्क भएमा हामी अस्पताल जानु पर्दैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three + 8 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने