

बर्दिया,
बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एकजना कर्मचारीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका ९ का ३१ वर्षीय पुलिसराम थारुको घाँस काट्ने क्रममा बाघको आक्रमणबाट परी मृत्यु भएको हो ।
गैंडा गणनामा प्रयोग गरिएको हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गर्दा पुलिसरामलाई आइतबार साँझ करिब पाँच बजे बाघले आक्रमण गरेको थियो । उनको राति आठ बजे शव फेला परेको सहायक संरक्षण अधिकृत असिम थापाले बताए ।
पुलिसरामलाई आक्रमण गरेको आशंकामा निकुञ्जका अधिकारीहरुले एउटा वयस्क (अन्दाजी १० वर्षको) बाघलाई डार्ट गरी नियन्त्रणमा लिएका छन् । बर्दिया निकुञ्जमा गत बुधबारदेखि गैंडा गणना सुरु गरिएको थियो । दुई सातामा गणना पूरा गर्न १० वटा हात्ती र ६० जना गणक परिचालित छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै मानिसहरुलाई आक्रमण गर्ने घटना पनि बढेको छ । दुई वर्षयता बाघको आक्रमणमा बर्दियामा १८ र बाँकेमा २ गरी २० जनाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ ।

