

काठमाडौं,
डडेल्धुराका जुनार उत्पादक किसान बजार खोज्दै काठमाडौं आइपुगेका छन् । बजार खोज्नका लागि एक हजार ३ सय किलो जुनार लिएर काठमाडौं आएको अगुवा किसान अन्तराम जोशीले जानकारी दिनुभयो । डडेल्धुराका जुनार उत्पादक किसानहरुले बिहिवार कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्याललाई भेटेर उत्पादन र बजारीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् ।
‘बाउबाजेको पालादेखि नै डडेल्धुरामा जुनारको खेती गर्दै आएको हो तर बजारीकरणको अभावमा बारीमै कुहिएर जाने अवस्था थियो ।’ उहाँले भन्नुभयो, ‘बजार नपाउने समस्या थियो । त्यसैले अहिले हामीले कृषक समूहमार्फत बजारीकरण तथा प्रचार प्रसारका लागि जुनार लिएर काठमाडौं आएका हौँ ।’
किसानहरुले मन्त्री अर्याललाई जुनार उपहार दिएका छन् । सिँचाईको अभावमा जुनारको बोट मर्ने समस्या रहेको भन्दै उनीहरुले मन्त्री अर्यालसँग सिँचाईको व्यवस्था गरिदिन आग्रह गरेका थिए । जवाफमा मन्त्री अर्यालले डडेल्धुराको जुनार उत्पादन बृद्धि गर्न आगामी वर्षको बजेट तथा कार्यक्रममा विशेष व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बजारीकरणको क्षेत्रमा कालिमाटी फलफूल तथा तरकारी बजारमा डडेल्धुराका कृषकहरुको उत्पादनलाई बिक्रिवितरण गर्न सहजिकरण गरिने समेत मन्त्री अर्यालले आश्वासन दिनुभयो । भागेश्वर गाउँपालिका ५ का किसानहरुले चुल्लका शिद्धनाथ नागार्जुन बहुउद्देश्यीय कृषक समूहमार्फत जुनार उत्पादन गर्दै आएका छन् ।
सिँचाईको अभावमा जुनारको बोट सुक्न थालेकाले त्यो समस्या समाधान गरिदिन र बजारीकरणमा सहयोग गर्न मन्त्रीसँग आग्रह गरेको किसान नारायणदत्त जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रीसमक्ष हामीले हाम्रा उत्पादन र समस्याहरु राख्यौँ । उहाँले जुनारको बजारीकरण र सिँचाईका निम्ती सहयोग गर्छौ भन्नुभएको छ ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको डडेल्धुरास्थित कार्यालयका प्रमुख खेमराज जोशीले आगामी दिनमा जुनार खेती प्रबद्र्धनका लागि समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषि ज्ञान केन्द्र डडेल्धुराले बजारीकरणका निम्ती ढुवानीमा सहयोग गरेपछी किसानहरु काठमाडौंसम्म जुनार लिएर आएका हुन् । केन्द्रले नयाँ बिरुवा रोप्नका निम्ति समेत सहयोग गरेको छ ।

