

काठमाडौं,
सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १५ औँ साधारणसभा तथा सातौँ अधिवेशन मँगलबार काठमाडौंमा सुरु हुँदैछ । अधिवेशनमा सहभागी हुन देशभरिका झण्डै ३ सय ६० सामुदायिक रेडियोकर्मीहरु राजधानी काठमाडौं आइपुगेका छन् ।
अधिवेशन तथा साधारणसभाको सम्पूर्ण तयारी पुरा भइसकेको अकोराबका महासचिव गोविन्द देवकोटाले जानकारी दिनुभयो । विहान ९ बजेपछि सुरु हुने साधारणसभा तथा अधिवेशनको सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको महासचिव देवकोटाले बताउनुभयो ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्यत गुरुङ विशिष्ट अतिथिको रुपमा रहनुहुनेछ । अधिवेशनले सामुदायिक रेडियोको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनसँगै देशभरिका सामुदायिक रेडियो सञ्चालन, तिनीहरुले उत्पादन गर्ने सामग्रीका विषयमा पनि समीक्षा हुनेछ ।
सामुदायक रेडियो प्रसारक संघ (अकोराब) नेपालले सामुदायिक रेडियोको सामाजिक दायित्वलाई थप सशक्त बनाउँदै संस्थागत सुशासनका प्रवर्धनका लागि विभिन्न काम गर्दै आएको छ । नेपालका करिब ९५ प्रतिशत नागरिकको पहुँच पुगेका सामुदायिक रेडियोहरुले ७० भन्दा वढी भाषामा सूचना, सन्देश, जानकारी र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गरिरहेका छन् ।

तस्वीरः अकोराबको १४ औं साधारणसभा ।
