२०८३ भदौ १४, आइतवार
 

संसदको पहिलो बैठकमै नाराबाजी, अर्को बैठक फागुन २६ गते

prabhu bank home loan

काठमाडौं,

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार बस्यो । तर आठ महिनापछि बसेको पहिलो दिनको बैठकमै सत्तारुढ दलको एउटा पक्षको बहिस्कार र विपक्षीको नाराबाजीको दृश्य देखियो ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको भए पनि सवा ५ बजेतिर संसद बैठक सुरु भयो । संसद अधिवेशन आह्वान गरेको र मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने, संसद नभएको बेला सरकारले ल्याएका ६ अध्यादेश पेश गर्ने र दुई वहालवाला र १२ पूर्वसांसदको निधन भएकोमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको थियो ।

बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभयो । लगत्तै प्रचण्ड नेपाल समूहका सांसदहरु उठेर विरोध गरे । सभामुखले समय दिएपछि सांसद भीम रावलले कार्यसूचीमा अध्यादेशहरु पनि राखिएकोमा विरोध जनाउनुभयो ।

उहाँले कार्यसूची संशोधन गर्न माग गर्नुभयो । तर अध्यादेश संसदको पहिलो बैठकमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै सभामुख सापकोटाले त्यो माग अस्वीकार गरे । लगत्तै प्रचण्ड नेपाल समूहका सांसदहरुले बैठक बहिस्कार गरे ।

कार्यसूची अनुसार सभामुख सापकोटाले संवैधानिक परिषद सम्बन्धी अध्यादेश पेश गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठलाई समय दिएपछि कांग्रेस सांसदहरुले उठेर विरोध गरे । त्यसपछि सभामुखले कांग्रेसकी सचेतक पुष्पा भुसाललाई बोल्न समय दिनुभयो ।

भुसालले संवैधानिक परिषद सम्बन्धी अध्यादेश संविधान विपरित आएको भन्दै स्वीकार गर्न नसक्ने बताउनुभयो । त्यसपछि फेरि सभामुखले बैठक अगाडि बढाउन खोज्नुभयो । कांग्रेस सांसदहरुले पुनः उठेर विरोध जनाए । सभामुखले कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँणलाई बोल्न समय दिनुभयो । उहाँले पनि संवैधानिक परिषदसम्बन्धी अध्यादेश संविधान प्रतिकुल भएकाले फिर्ता हुुनुपर्नेमा जोड दिनुभयो ।

सभामुखले विरोध दर्ज भयो भन्दै अध्यादेश पेश गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री श्रेष्ठलाई समय दिनुभयो । मन्त्री श्रेष्ठ अध्यादेश पेश गर्न थालेपछि प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गरे ।

‘सरकारको स्वेच्छाचारी चल्दैन’, ‘संवैधानिक अध्यादेश फिर्ता गर’, ‘अध्यादेशले देश चलाउन पाइँदैन’ जस्ता नारा लगाउँदै कांग्रेस सांसदहरु रोष्टम घेराउमा उत्रिँदा जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले पनि साथ दिए ।

कांग्रेस र जसपाका सांसदहरुको नाराबाजीपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेर सहमतिको प्रयास गर्नुभयो । तर त्यसपछि पुनः बैठक बस्नै सकेन । संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभा बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

7 + 11 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने