

काठमाडौं,
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले कोरोना बीमा दावी भुक्तानी प्रमाणिकरणको क्रममा कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको भन्दै सात दिनभित्र बीमितको सही विवरण पठाउन निर्देशन दिएको छ ।
सोमबारभन्दा अगाडिको मितिमा परीक्षण गरिएको तर तोकिए अनुसार विवरण छुट भएका विवरण तोकिएको ढाँचामा अलग्गै सफ्टकपी अनिवार्य रुपमा पठाउन मन्त्रालयले सोमबार सूचना जारी गर्दै निर्देशन दिएको छ ।
तोकिए बमोजिमको समयभित्र र ढाँचामा ती विवरण उपलब्ध नभएमा कोरोना बीमा दावी प्रमाणीकरण लागि अयोग्य ठहरिने पनि सूचनामा उल्लेख छ । नियमित रुपमा तोकिएअनुसार रिर्पोटिङ नगरिएको पाइएमा ती प्रयोगशालाको सम्बन्धन खारेज गरी नियमानुसार कारबाही समेत गरिने सहप्रवक्ता डा समिरकुमार अधिकारीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ ।


