

काठमाडौं,
प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार भेटवार्ता भएको छ । जबरालाई भेट्न सेनापति थापा दिउँसो रामशाह पथस्थित सर्वोच्च अदालत पुग्नुभएको थियो । सर्वोच्च अदालतको नयाँ बन्न लागेको भवनको लागि आवश्यक जग्गा प्राप्तिको विषयमा थापा र जबराका बीचमा छलफल भएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।
‘सर्वोच्चको हालको भवन रहेको स्थानदेखि पछाडि नयाँ भवन बन्दैछ । यसका लागि जग्गा प्राप्ति र टेण्डर भइसकेको छ । तर त्यस जग्गामा नेपाली सेनाको टहरा भएकाले त्यो हटाइदिन प्रधानन्यायाधीशले प्रधान सेनापति ज्यूलाई आग्रह गर्नुभएको छ’ प्रवक्ता पोखरेलले भन्नुभयो ।
सेनाले भोगचलन गरिरहेको सर्वोच्च परिसरको जग्गाको विषयमा कुराकानी गर्न प्रधानसेनापति थापा सर्वोच्च अदालत जानुभएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौड्यालले पनि जानकारी दिनुभयो । भवन निर्माणका लागि प्रक्रिया अगाडि बढेकाले संरचना हटाएर सहयोग गरिदिन प्रधानन्यायाधीशले प्रधान सेनापतिलाई निर्देशन भएको छ ।
तर कतिपयले सर्वोच्चमा प्रतिनिधिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका बेला सेनापतिले प्रधानन्यायाधीशलाई भेट्नु अर्थपूर्ण मानेका छन् । अदालत प्रशासनले भने यो संयोग मात्र भएको दाबी गरेको छ ।

