

लुम्बिनी,
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुटवलमा एक विशेष समारोहबीच लुम्बिनी केबलकारको शिलान्यास गर्नुभएको छ । बुटवल उपमहानगरपालिका ३, बमघाटमा तल्लो स्टेसन रहने लुम्बिनी केबुलकार पाल्ला जिल्लाको तिनाउ गाउँपालिकास्थित बसन्तपुर डाँडासम्म गरी कुल तीन किलो मिटर लामो हुने छ ।
यसबाट १० मिनेटको यात्रामा तराई, पहाड तथा हिमाली भुभागको दृश्यावलोकन गर्न सकिनेछ । लुम्बिनी प्रदेशकै आर्थिक केन्द्र तथा बुद्ध जन्मथलनिकट रहने यो केबलकारले नेपालको आन्तरिक तथा वाह्य पर्यटनको विकास र विस्तारको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कोभिड १९ महाव्याधिका कारण सर्वाधिक प्रभावित पर्यटन क्षेत्रलाई उकास्न लुम्बिनी केबुलकार महत्वपूर्ण योजना बन्ने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी भ्रमणका लागि आउने जो कोहीका लागि पनि केबुलकार एउटा पुग्नै पर्ने गन्तव्य बन्न जाने पनि प्रधानमन्त्रीले बताउनुयो ।
लुम्बिनी क्षेत्र आदिमानव रामापिथेकसको अवशेष फेला परेको र कपिल मनु, गौतम बुद्ध, योगका प्रवर्तक पतञ्जली, संस्कृत व्याकरण निर्माता पाणिनि जस्ता ऋषिहरुको थलो भएको पनि उहाँले स्मरण गर्र्नुभयोे । चितवनमा अयोध्यापुरीको कुरालाई लिएर प्रमाणको विषय उठाइएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी कहाँ मेसोपोटामियाको जस्तो फुटेका हाँडी फेला नपर्ला तर जनश्रुति र व्यवहारिक निरन्तरताका आधारमा पुराना कुराहरुलाई पुुष्टी गर्न सकिन्छ’ ।
भौगोलिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले अब्बल भए पनि यो क्षेत्र विभिन्न कारणले पछि परेको बताउँदै प्रधानमन्त्रीले अब सरकारसहित सबै क्षेत्र मिलेर अघि बढाउनु पर्ने समेत बताउनुभयो । ‘यसका लागि सरकारले पुर्वाधारमा लगानी गरिदिन्छ’, प्रधानमन्त्रीको भनाई छ ।
कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्रको पर्यटन उकास्न केबुलकार सफल परियोजना बन्ने विचार व्यक्त गर्नुभयो । यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केबुलकार व्यवसायिक दृष्टिलेसमेत उपयोगी परियोजना बन्ने देखिएको भन्दै यसले सम्मृद्धि प्राप्तिमा बहुआयामिक योगदान गर्नसक्ने बताउनु भयो ।
Monocable detachable gondola प्रणालीको लुम्बिनी केबुलकारमा बटम स्टेशनदेखि टप स्टेशनसम्म पुग्न १० मिनेट लाग्नेछ । यो केबुलकारले प्रतिदिन ६ हजार यात्रुलाई समुद्री सतहबाट नौ सय ४० मीटर उचाईमा बसन्तपुर डाँडामा पु¥याउनेछ ।
कूल अनुमानित लागत ३ अर्ब ५० करोड रुपैया रहेको यो केबुलकारले भारतीय सिमा क्षेत्रबाट नजिक पर्ने यो केबुलकारले देशको आर्थिक तथा पर्यटकीय क्षेत्रलाई महत्वपूर्ण योगदान पु¥याउन सक्ने अपेक्षा गरिएको छ ।यससँगै बसन्तपुरमा रहेको दुर्गामाताको मन्दिरलाई पुनरुत्थान गरी एउटा नयाँ धार्मिक गन्तब्य बनाइने जानकारी पनि कार्यक्रममा दिइयो ।


