

एजेन्सी,
म्यानमारमा सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको छ । सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु कीलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो ।
सेनाले म्यानमारकी स्टेट काउन्सिलर तथा विदेशमन्त्री समेत रहेकी सु कीसहित राष्ट्रपति विन मिन्ट लगायतका नेतालाई पनि हिरासतमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । नेताहरुलाई पक्राउ गरेको केही घण्टापछि सेनाले टेलिभिजन मार्फत म्यानमारको सत्ता आफ्नो नियन्त्रणमा रहेको र एक वर्षका लागि संकटकाल घोषणा गरिएको जनाएको छ ।
सेनाले म्यानमारको सत्ता सेनाप्रमुख मिन आङ ह्लाइङलाई सुम्पिएको जनाएको छ । एनएलडीका प्रवक्ता म्यो न्युन्तले सु की, राष्ट्रपति मिन्टलगायतका नेताहरुलाई प्रहरीले हिरासतमा लिएको जानकारी दिनु भएको छ ।
‘म नागरिकहरुलाई तत्काल कुनै पनि प्रतिक्रिया नदिन अनुरोध गर्दछु । उनीहरुलाई कानुनबमोजिम अगाडि बढ्न आग्रह गर्छु ।’ उहाँको भनाई उदृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
यसैबीच, म्यानमारकी नेतृ आङ सान सु कीले नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न आग्रह गर्नुभएको छ । नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को फेसबुक पेजबाट सु कीको प्रतिनिधित्व गर्दै पोस्ट गरेको सन्देशमा नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न र त्यसको प्रतिरोध गर्न आग्रह गरिएको छ ।

