

काठमाडौं,
काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ७ साङ्लेखोला फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको छ । त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा मिति शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका करिब २ हजार ३ सय घरपालुवा पन्छी तया रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिसकिएको विभागका सूचना अधिकारी डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो ।
यस क्रममा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको उहााको भनाइ छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिएको विभागले जनाएको छ ।
विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गराउन आग्रह गरेको छ । फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्वन गर्न, फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन पनि विभागले कृषकलाई सूचित गरेको छ ।

