

काठमाडौं,
नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित माउण्ट केटु हिमालको आरोहण गरी इतिहास रचेका छन् । संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेको थिएन । आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यो हिमाल मात्र हिउँदमा आरोहण हुन सकेको थिएन ।
तर नेपालका निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले शनिबार साँझ ५ः४५ बजे (स्थानीय समयअनुसार ५ बजे) ८ हजार ६ सय ११ मिटर अग्लो शिखरको सफल आरोहण गरेका छन् ।
दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनबिना नैं आरोहण गरेका छन् । आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्सका छाङदावा शेर्पाले आरोहणको सफलता पुष्टि गरे । सुरुमा तीन ओटा समूहमा विभाजित पर्वतारोहीहरू अन्तिममा एकसाथ शिखरमा पुगेका थिए ।
गत वर्ष पनि नेपाली शेर्पा टोली र विदेशी आरोहीले हिउँदमा केटु आरोहणको प्रयास गरेका थिए । तर, मौसम असहज बनेपछि उनीहरू करिब ६ हजार मिटरबाटै फर्केका थिए । पाकिस्तानी सञ्चार माध्यमहरूका अनुसार अहिलेसम्म जम्मा तीन सय ६ जनाले माउन्ट केटुको सफल आरोहण गरेका छन् ।
आरोहण क्रममा ८४ जनाको मृत्यु भएको छ । माउन्ट केटुको आधार शिविर समुद्री सतहबाट पाँच हजार एक सय १७ मिटर उचाइमा छ । आधार शिविरबाट अगाडि चारवटा क्याम्प पार गर्दै उचाइतर्फ पाइला चाल्नुपर्छ ।

