

एजेन्सी,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदमा महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको र उक्त प्रस्तावमाथि बुधबार छलफल हुने बीबीसीले जनाएको छ ।
ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ भने अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको छ । महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको विषय पनि उल्लेख गरिएको बीबीसीले उल्लेख गरेको छ ।
त्यसैले सिनेटकी सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्र्याट पार्टीका सांसद र अन्य नेताहरुले समेत ट्रम्पलाई उनको कार्यकाल समाप्त हुनुअघि नै ह्वाइटहाउसबाट निकाल्न चाहेका छन् ।
राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । महाअभियोग प्रस्ताव पास गर्न माथिल्लो सदनमा पनि दुई तिहाइ बहुमत चाहिन्छ । तर माथिल्लो सदनबाट महाअभियोग प्रस्ताव पास हुनेमा डेमोक्र्याट सांसदहरु नैं विश्वस्त नरहेको बीबीसीले लेखेको छ ।

