

काठमाडौं,
कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समितिले कोरोना भाइरस महामारीका कारण २०७६ चैतदेखि बन्द भएका विद्यालय, चलचित्र घर, जिमखाना लगायत खुल्ला गर्ने निर्णय गरेको छ । सीसीएमसीले गरेको निर्णय अब बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ ।
आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी) को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो ।
‘नेपाल सरकारको पूर्वनिर्णय अनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले भन्नुभयो ।
यस्तै कोभिडको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारवाही गर्ने निर्णय भएको पनि सचिव गुरागाईंले जानकारी दिनुभयो ।
नयाँ प्रकारको कोरोना भाइरस देखिएका संयुक्त अधिराज्य बेलायत लगायतका विभिन्न २०/२२ वटा देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले गरेको छ ।

