

काठमाडौं,
नेपाल विद्युत् प्राधिकरणले ३ वर्षअघि नैं लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको जनाएको छ ।
जाडो बढेसँगै पटकपटक विद्युत् अवरुद्ध भैरहेको भन्दै जनगुनासो बढेका बेला यो वर्ष विद्युत् अवरुद्ध हुने क्रम घटेको तथ्यांक प्रस्तुत गरेको छ ।
ऊर्जा मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, ‘गत वर्ष साउनदेखि पुससम्म २२ पटक सिस्टम ट्रिप भएको रहेछ । यो वर्ष साउनमा मात्रै १० पटक सिस्टम ट्रिप भएको रहेछ ।’
मंसिरमा एक र पुसमा दुई पटक सिस्टम ट्रिप भएर केहीबेर विद्युत् अवरुद्ध हुँदा सामाजिक सञ्जालमा आलोचना बढेको शाक्यले गुनासो गर्नुभयो । ‘आलोचनालाई हामीले सकारात्मक रूपमा लिएका छौं,’ उहाँले भन्नुभयो, ‘विद्युत्प्रति सर्वसाधारणको संवेदनशीलता बढेको रहेछ ।’
नयाँ व्यवस्थापन आएकाले विद्युत् अवरुद्ध हुँदा सर्वसाधारणमा मनोवैज्ञानिक त्रास बढेको हुन सक्ने उहाँको भनाइ छ । ‘सबैखाले समस्या समाधान गर्न प्राधिकरणको टिम तयारी अवस्थामा छ,’ उहाँले भन्नुभयो ‘कुनै पनि हालतमा लोडसेडिङ हुँदैन ।’
ट्रान्सफर्मर मर्मत गर्ने, फेर्ने र थप्ने, प्रणाली मर्मत गर्ने गरेकाले विद्युत् अवरुद्ध हुने मात्रा घटेको शाक्यको दाबी छ । बालाजु क्षेत्रमा गत वर्ष ५४ घण्टा विद्युत् अवरुद्ध भएकामा यो वर्ष ४९ घण्टा मात्रै रोकिएको उहाँले बताउनुभयो ।
बानेश्वर क्षेत्रमा गत वर्ष पटकपटक गरी ४१ घण्टा विद्युत् अवरुद्ध भएकामा यो वर्ष १९ घण्टा मात्रै रोकिएको शाक्यको भनाइ छ । लैनचौर क्षेत्रमा गत वर्ष १७ घण्टा विद्युत् अवरुद्ध भएकामा यो वर्ष ४ घण्टा २५ मिनेट मात्रै विद्युत् नआएको तथ्यांक उनले प्रस्तुत गर्नुभएको थियो ।
हेर्नुहोस् प्राधिकरणको विज्ञप्तिः


