

काठमाण्डौं,
नेपालमा कोरोना संक्रमण देखिए लगत्तै बन्द भएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना विहीबारदेखि अवलोकनका लागि खुला भएको छ । गएको चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना साँढे ८ महिनापछि सुरक्षा मापदण्ड अपनाउँदै सर्वसाधारणका लागि खुला गरिएको हो । नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी खुला गरिएको व्यवस्थापन पक्षले जनाएको छ ।
‘बन्द हुनु अघि झैं चिडियाखाना हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि खुला गरिएको छ । एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने र बालबालिकालाई खेलाउन नपाइने नियम सहितको मापदण्ड बनाएर खुल्ला गरिएको हो ।’ चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जिवि प्रसाद पोखरेलले भन्नुभयो, ‘चिडियाखाना प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ । भिडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा सात सयदेखि आठ सय जनालाई मात्र चिडियाखाना प्रवेश गर्न दिइका छौं ।’
मापदण्ड अनुसार अवलोकनकर्ताले अनिवार्य मास्क लगाउनुपर्ने, बढीमा २ घण्टाभित्र अवलोकन गरिसक्नु पर्नेछ भने चिडियाखानाभित्र बसेर खान, वन्यजन्तुलाई खुवाउन र छुन पाइने छैन । चिडियाखाना व्यवस्थापनका अनुसार बन्द हुनुअघि हरेक दिन औसतमा तीन हजार अवलोकनकर्ता आउने गरेको पोखरेलको भनाई छ ।
चिडियाखाना अवलोकनकर्ताले पालना गर्नु पर्ने नियमहरुः
क) सामाजिक भौतिक दुरी कायम गर्नु पर्ने ।
ख) अनिवार्य मास्क लगाउनु पर्ने ।
ग) फुट डिप गरेर मात्रै प्रवेश गर्नु पर्ने ।
घ) शरीरको तपक्रम नापेर मात्रै प्रवेश गर्नु पर्ने ।
ङ) स्यानीटाइजरको प्रयोग गरेर मात्रै प्रवेश गर्नु पर्ने ।
च) बढीमा २ घण्टाभित्र चिडियाखाना अवलोकन गर्नु पर्ने ।
छ) कुनै पनि खानेकुरा भित्र लैजान नपाइने ।
ज) भित्र जथाभावी थुक्न र बारहरुमा छुन नपाइने ।
झ) जनावरहरुलाई छुन र जिस्क्याउन नपाइने ।
ञ) निषेधित क्षेत्र वा बार लगाएको ठाउँमा प्रवेश गर्न नपाइने ।
अवलोकन गर्न विदेशीका लागि प्रतिव्यक्ति ७ सय ५० रुपैयाँ, सार्क राष्ट्रका पाहुनाका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ, नेपालीलाई १ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । १२ वर्षभन्दा माथि उमेर समूहका नेपाली विद्यार्थीका लागि ९० रुपैयाँ तथा ४ देखि १२ वर्षसम्मका नेपाली विद्यार्थी ५० रुपैयाँमै चिडियाखानामा प्रवेश गर्न पाउने छन् ।
हाल चिडियाखानामा ११० प्र तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले विक्रम संवत् १९८९ मा निजीरुपमा स्थापना गरेको सदर चिडियाखाना २०११ सालदेखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो । चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दैै आएको छ ।
अवलोकनकर्ताबाट प्राप्त शुल्कबाट कर्मचारी व्यवस्थापन र जनावरलाई खानपानको व्यवस्थापन मिलाउने गरिएको छ । साँढे आठ महिना चिडियाखाना बन्द हुँदा खर्च व्यवस्थापन गर्न समस्या भएको व्यवस्थापन पक्षले जनाएको छ । अवलोकनको लागि बन्द गरेपनि त्यहाँ रहेका जीवजन्तुको स्याहारसुसार भने नियमित गरिँदै आइएको थियो ।


